काठमाण्डौं, १२ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्।

पार्टीको आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वामशक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने दाबी गरे।

राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताए। अहिलेको संकटलाई सामना गर्ने वैचारिक सामर्थ्य आफ्नो पार्टीसँग रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले भने, ‘वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको संकटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितविरुद्ध अनेक षड्यन्त्र हुन सक्ने खतरा औँल्याए। राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उनको भनाइ थियो ।

भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भने, ‘सही राजनीतिक कार्यदिशाको खाँचो छ ।’ उनले विद्रोहबाट जन्मेको आफ्नो पार्टी संगठनात्मक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *