दमक, २४ पुस–बचतकर्ताहरुको निक्षेप फिर्ता नगर्ने झापामा पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताहरुको करोडौं रकम हिनामिना गरेको भन्दै दमक–५ स्थित संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थासहित भद्रपुरको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति र अर्जुनधाराको पूर्वार्ध कृषि सहकारी संस्थामाथि उजुरी परेको हो ।
पहिलो पाइला बहुउद्देश्यीय सहकारीका अध्यक्ष सनिप भुजेल महिनौदेखि फरार छन् । त्यस सहकारीले करिव ३ करोड रुपैयाँ बचत फिर्ता गर्न देखिएको कोशी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले बताए ।
त्यस्तै समाजसेवी बहुउद्देश्यीयले २ करोडभन्दा बढी र जयपुर बहुउद्देश्यीयले १ करोडको हाराहारीमा बचत फिर्ता गर्न बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै, पूर्वार्ध कृषि सहकारी संस्थाले प्रदेश सरकार र प्याक्टबाट ल्याएको १ करोडभन्दा बढी अनुदान रकम दुरुपयोग गरेको जनाइएको छ ।
दमकको संयुक्त कलाकर्मी साकोसमा भएको अनियमितताका सम्बन्धमा छानविन गरी त्यसको प्रतिवेदन दमक नगरपालिकामा पठाइएको जिल्ला सहकारी संघ झापाले जनाएको छ । उजुरी परेका अन्य सहकारीमाथि पनि छानविन भइरहेको कोशी प्रदेश सहकारी संघका सचिव दंगालले जानकारी दिए ।
