बिर्तामोड, ९ माघ–पुर्वकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकप आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल रंगशालामा आयोजना हुने भएको छ ।
आज मंगलबार झापाको बिर्तामोडस्थित अतिथि सदनमा पत्रकार सम्मेलन गर्दै आयोजकले गोल्डकप आयोजना र त्यसको तयारीका बारेमा जानकारी गराएको हो । उक्त प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फूटवल क्लवसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले प्रतियोगिताको बारेमा जानकारी दिँदै झापा जिल्लालाई फुटवलको ‘हव’को रुपमा विकास गर्नेगरी आफूहरु लागिपरेको बताए । ‘विगतमा देश भित्र र मुलुक बाहिर घरेलु टिम झापा ११ फुटवल क्लवको विकास र प्रवद्र्धनसँगै झापा गोल्डकपलाई निरन्तर रुपमा सञ्चालन गरिरहेको छौं । अध्यक्ष बस्नेतले भने,( ‘यस वर्ष विजेता टिमले नगद १३ लाख र उपविजेता टिमले नगद ७ लाख पाउने छन्।’
आयोजकले प्रतियोगिताको मष्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गर्ने भएको छ भने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने अध्यक्ष बस्नेतले बताए ।
आयोजकले गोल्डकप उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटवल खेलाडीलाई नगद २५ हजार नगद सहित सम्मान गर्ने भएको छ । त्यसैगरी आयोजकले डोमालाल रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई समेत रु २५ हजार सहयोग प्रदान गर्ने भएको छ । प्रतियोगितामा रु १ करोड ४० लाख खर्चहुने अनुमान गरेको आयोजकले खेल सफल पार्न उद्योगी व्यवसायी, खेलप्रेमी महानुभाव र सञ्चारकर्मीहरुमा सहयोगको लागि आग्रह समेत गरेको छ ।
पत्रकार सम्मेलनमा झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङ, वरिष्ट उपाध्यक्ष बलराम कार्की, कोषाध्यक्ष केदार गिरी, नेपाल फुटवल संघ झापाका अध्यक्ष भगिरथ आले मामा, समाजसेवी मदन गोपाल सुब्बा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले गरेका थिए ।
