महोत्तरी, २३ माघ–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने खेलमा एमाले नरहेको बताएका छन्।
सोमवार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेकोसमेत दावी गरे।
अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियतसमेत नराखेको जिकिर गरे। अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताए।
‘यो निकम्मा गठबन्धन, भ्रष्ट गठबन्धन, तस्करी चलाएको छ। जनताका लागि केही गर्न नसक्ने यो निकम्मा गठबन्धन। छिमेकीहरु, मित्रहरुसँग भेटदा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहुर्याएर हात मोलेर बस्ने गठबन्धन‚’ उनले भने‚ ‘यस्तो गठबन्धन भत्काउने, ढाल्ने केही होइन‚ हामी मिशन २०८४ भनेका छौँ। बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ। यस्तो सरकार कति दिन्छ चल्छरु जति दिन चल्छ, देशलाई दुःख दिन्छ।’
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावीसमेत गरे।
