काठमाडौँ, २३ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) किमार्थ त्याग्न नसकिने बताएका छन्।
पार्टी उपाध्यक्ष डा। वेदुराम भुसालको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतवार काठमाडौँमा विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्ष प्रजापतिको टाउको भन्नेहरूले आज पनि त्यो विचार सिध्याउने षड्यन्त्र गरिरहेको भन्दै आक्रोशसमेत पोखे।
पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले जनताको विश्वास कसरी जित्ने भन्ने नाममा जबजलाई परित्याग गर्नुलाई आफूले कुनै पनि रुपमा ठिक भन्न नसक्ने तर्क गरेका छन्।
उनले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अङ्गीकार गरेर आफूहरू अघि बढ्ने दोहोर्याए।
आज पनि कम्युनिस्ट पार्टी सिध्याउन देशी, विदेशी साम्राज्यवादी र प्रतिक्रियावादी लागि परेकाले त्यसबाट जोगिन पनि नेपालका कम्युनिस्टहरूले जनताको बहुदलीय जनवादी विचारमा चल्नु आवश्यक रहेको अध्यक्ष नेपालको तर्क थियो। उनले जनताको बहुदलीय जनवादको सारतत्त्व नबुझेकाहरुले मात्रै यसको विरोध गर्ने गरेको आरोपसमेत लगाए।
अध्यक्ष नेपालले समाजमा वर्गहरू रहेसम्म विभिन्न पार्टी अस्तित्वमा रहने हुनाले पनि प्रतिस्पर्धाको राजनीतिमा जनताको विश्वास जित्ने जबजको अन्तरवस्तुको सान्दर्भिकता कायमै रहेको दावी गरे।

