दमक, २७ माघ–आज तामाङ समुदायको सोनाम, शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होसार पर्व मनाइदैछ । नेपालका हिमाली एवं पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ल्होसार पर्वका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री दाहालले ल्होसार पर्वका अवसरमा देश तथा विदेशमा रहेका तामाङ समुदायलाई शुभकामना व्यक्त गरेका हुन् । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ।

आदिवासी जनजातिका विभिन्न समुदायले मनाउने ल्होसार पर्वमा मान्यजनबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ। यस्ता पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, एक जाति र समुदायले अर्को जाति र समुदायको पहिचान र विशिष्टताको सम्मान, राष्ट्रिय एकतासहितको समुन्नतिका लागि प्रेरकको रूपमा समेत रहँदै आएका छन्। यस्ता पर्वहरू कुनै खास जाति वा समुदायविशेषका पर्व नभएर सिङ्गो राष्ट्रका साझा पर्वसमेत भएको प्रधानमन्त्री दाहालले दिएको शुभकामनामा उल्लेख छ ।

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ। विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण गरिदै आएको छ।

लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानसमेत भएको शुभकामनामा उल्लेख छ । ल्होसार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझः प्रगाढ र सुदृढ बनाउँदै सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न एकताबद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वाससहित प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *