दमक, २७ बैशाख–दमक नगरपालिका वडा नंम्बर ५ ले नगरकै पहिलो बाल मैत्री वडा घोषणा गरिएको छ । बुधबार वडा नं ५ को वडा कार्यालयद्धारा आयोजित औपचारिक कार्यक्रमबीच ५ नम्बर वडालाई स्थानीय शासनयुक्त बाल मैत्री वडाका रुपमा बाल मैत्री घोषणा गरिएको हो ।

दमक नगरमा ८ बर्ष अघिदेखि बाल मैत्री घोषणाका लागि आवश्यक तयारी गरिरहेको थियो । बाल मैत्री घोषणाका लागि बालबालिका सम्बन्धि विभिन्न सुचकहरुको कार्यान्वयन र अवस्थाका बारेमा तथ्याङक संकलन गरिएको थियो ।

बाल मैत्रीका लागि तोकिएका ५१ सूचकहरु मध्ये ४६ वटा सूचकमा ८६।२७ अंक प्राप्त गरेपछि यो वडा बाल मैत्री घोषणा गरिएको वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

गत असोज २१ गते जिल्ला समन्वय समिति झापाले सहमति प्रदान गरेको र गत पुष १८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सो वडालाई बालमैत्री घोषणा गरिएको ५ नम्बर वडा सचिव निधिनारायण ढुंगेलले जानकारी दिए ।

दमकसँगै जोडिएको छिमेकी कमल गाउँपालिका बालमैत्री घोषणा भएको करिब २ महिनापछि दमक नगरको एउटा वडा बालमैत्री घोषणा भएको हो ।
कार्यक्रममा वडास्थित बाल सञ्जाल, टोल बिकास संस्था, बाल क्लबहरुका प्रतिनिधि, सामाजिक व्यक्तित्वहरु लगायत ठुलो संख्यामा बालबालिकाहरु थिए ।

सो अवसरमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले संयुक्त रुपमा सो घोषणा गरेका हुन् ।

कार्यक्रममा दमक नगरपालिका प्रमुख थापाले आगामी दुई बर्षभित्र नगरका सबै वडालाई बालमैत्री घोषणा गर्ने तयारी भइरहेको बताए । जिसस झापा संयोजक बराल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, नगरपालिकाकी सामाजिक बिकास समिति संयोजक शारदा सापकोटा भट्टराई, पूर्व जनप्रतिनिधि शेरबहादुर भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरुले बालबालिकाले भोलीका दिनमा देश निर्माणका निम्ती उच्च कोटीको योगदान गर्न सक्ने भएकाले उनीहरुप्रतिको लगानीले मात्रै समाज समुन्नत र समृद्ध बन्न सक्ने उल्लेख गरे ।

सो अवसरमा वडालाई बालमैत्री घोषणा गराउन महत्वपूर्ण योगदान दिएको भन्दै नगरले दोश्रो कार्यकालका निर्वाचित सो वडाका वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा सदस्य ख्यामकुमारी परियार, खड्ग राई, पूर्व वडा सदस्यहरु कृतिका भट्टराई, ख्यामकुमारी परियार, दुर्गाप्रसाद पौडेल र सूर्यप्रसाद नेपाललाई सम्मान गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *