झिलझिले, २७ बैशाख–शिवसताक्षी नगरपालिकामा बैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म मेयर कप सञ्चालन हुने भएको छ । खेलकुदको विकास र खेलाडीहरुको प्रतिभालाई जोड दिने उदेश्यले मेयर कप आयोजना गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । नगर खेलकुद विकास समितिले आयोजना गर्ने सो मेयर कप झिलझिलेस्थित गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदान र दुधेस्थित कवर्ड हलमा सञ्चालन हुने भएको हो ।

आज (बिहिबार) ब्याङडाँडास्थित नगरपालिाको कार्यालयमा पत्रकार सम्मेलन गरेर नगर खेलकुद विकास समितिले मेयर कप सञ्चालन र तालिका बारेमा जानकारी गराएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ्ग राईका अनुसार खेलकुदका विभिन्न पाँच विधामा प्रतियोगितात्मक वडास्तरीय मेयरकप खेल कार्यक्रम हुने भएको छ । अध्यक्ष रिङ्गालुङ्गले ३० बैशाखदेखि ५ जेठ सम्म मेयर कप सञ्चालन हुने र सो प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिए । पाँच विधागत सञ्चाल हुने प्रतियोगितामा नगरभरीका ११ वटा वडाहरुबाट टीमहरु सहभागि हुने अध्यक्ष रिङ्गालुङ्गले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जारी प्रेष नोटमा मेयर कप अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, कराँते र ब्याडमिन्टनका अलग अलग प्रतियोगिता हुने जनाएको छ । अध्यक्ष रिङगालुङका अनुसार ब्याडमिन्टन बाहेकका सबै खेलहरु झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा हुने र ब्याडमिन्टन खेलको प्रतियोगिता भने दुधेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ ।

खेलकुद तथा शिक्षा शाखा प्रमुख समेत रहनुभएका नगर खेलकुद विकास समितिका सचिव छवि ढकालको उपस्थितिमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पाँच विधागत खेलकुद प्रतियागितालाई भब्य र उत्कृष्ट बनाउन वडा कार्यालयहरु र नगरका खेलकुद संघसंस्थाहरु र क्लबहरुसंग आवश्यक छलफल समेत भएको अध्यक्ष रिङ्गालुङ्गले बताए । उनका अनुसार फुटबल प्रतियोगितातर्फ विजेताले नगद ७० हजार रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन भने भलिबलतर्फ विजेताले ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ, क्रिकेटतर्फ विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी र मेडल समेत प्राप्त गर्नेछन् ।

ब्याडमिन्टन डबलतर्फ प्रथम हुनेले नगद १० हजार र दोश्रो हुनेले ६ हजारसहित ट्रफी र मेडल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ब्याडमिन्टनमा सिंगलतर्फ भने प्रथम हुनेले नगद ५ हजार र दोश्रो हुनेले ३ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । फुटबलतर्फ सबै विधामा नगद पुरस्कार व्यवस्था गरिएको छ भने भलिबल र क्रिकेटतर्फ पनि विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलकुद बिकास समिति अध्यक्ष रिङगालुङले खेलाडीहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर वडा वडाका गाउँ टोलसम्म पुगेर फुटबल, जर्सी, भलिबल, क्रिकेटका सामग्री आदि वितरण गर्ने काम भइरहेको जानकारी दिए । यसले सिंगो नगरभरीनै खेलकुदप्रति युवाहरुलाई आकर्षित गराउँदै खेलको बिकासमा योगदान दिने विश्वास लिइएको रिङ्गालुङ्गले बताए ।

त्यसैगरी, फुटबलतर्फ प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई मेडल, टफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तैं, वेस्ट प्लेयर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्डर, हाइस्कोर, वेस्ट गोलकिपर र राइजिङ प्लेयर खेलाडी घोषणा गरी नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएको छ ।

यता, भलिबल र क्रिकेटतर्फ पनि विभिन्न विधागत पुरस्कारसहितको उत्कृष्ट खेलाडीहरु छनौट गरी नगद रुपैयासहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मे्लनमा जारी प्रेष नोटमा उल्लेख गरिएको छ ।

अध्यक्ष रिङ्गालुङ्गले नगर कार्यपालिकाले दिएको जिम्मेवारीलाई इमान्दारीका साथ पालना गरेर नगरको खेलकुदको विकासमा जुट्ने बताए । उनले नगरका पुराना खेलाडीहरुको सम्मान र नयाँ खेलाडीहरुको प्रतिभालाई कदर गर्न नगर खेलकुद विकास समितिले आवश्यक योजना बनाउने पत्रकार सम्मेलनमा जनाए । पो पत्रकार सम्मेलनमा नेपाल सितोरियो कराँते संघ शिबसताक्षीका सिनियर खेलाडी तथा प्रशिक्षक दुर्गा उप्रेती, गौरब थापा लगायतको खेलाडीहरुको सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *