काठमाडौँ, १६ जेठ—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् । बुधवार राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भ पारेर नेकपा एमालेले गरेको राष्ट्रिय महिला भेलामा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी हुन् ।
उनले महिलाहरुले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरुका साथै राष्ट्रिय मुद्दाहरुमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा जोड दिइन् । पूर्वराष्ट्रपति भण्डारीले महिलाहरुले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेण्डाहरुमा पनि नेतृत्व लिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले यस सम्बन्धमा समान धारणा र बुझाइ निर्माण गर्नका लागि सचेतना तथा सशक्तिकरणका अभियानहरु सञ्चालन गर्दा महिला र पुरुष दुवैलाई लक्षित गरिनुपर्दछ । महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मुल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक, आर्थिक व्यवस्था हो । तसर्थ हामीले व्यक्तिगत सचेतना वा सशक्तिकरणमा मात्र सीमित नभइ महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रुपान्तरणको विषयसँग जोड्नुपर्दछ ।ु
वर्तमान संविधानले जनताका आधारभुत अधिकारहरुलाई मौलिक हकको रुपमा सुनिश्चित गरिसकेको सन्दर्भमा पूर्वराष्ट्रपति भण्डारीले संविधानप्रदत्त मौलिक हकको व्यवहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अगाडि बढाउन अग्रसरता लिनुपर्ने बताइन् ।

