दमक, ११ असार–लागु–औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसर पारेर झापाको दमकमा दमक नगर इसाई समाजले एक दिवसीय संचेतना कार्यक्रम सम्पन्न गरेको छ । दमक नगरपालिकाको सहकार्य र इलाका प्रहरी कार्यालयको प्राविधिक सहयोगमा दमक नगर इसाई समाले दमक–५ रे अफ होप मण्डलीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा दमक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक कृष्णकुमारी अधिकारीले सहजिकरण गर्नुभएको थियो । वरिष्ठ प्रहरी नायव निरीक्षक अधिकारीले लागु–औषध भनेको के हो ? लागु औषधका चरणहरु, यसको प्रयोग गर्ने युवा–युवतीका उमेर समुह, स्वभाव, लक्षण, गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
इलाका प्रहरी कार्यालय दमककी महिला तथा बालबालिका सेलकी प्रमुख समेत रहनुभएकी वरिष्ठ प्रहरी नायव निरीक्षक अधिकारीले लागु–औषध प्रयोग गर्न घर–परिवार, गाउँ–घरबाटै सिक्ने गरेको र त्यसलाई सुरुको समयमा रोकावट गर्ने कार्य नहँदा युवा–युवतीहरु थप कुलततर्फ लाग्ने गरेको समाजमा घटेका घटनाक्रमहरुलाई कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
दमक नगर इसाई समाजले संस्थागत रुपमा चर्च–मण्डलीहरुमा लागु–औषधको बारेमा संचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो समय समाजमा दिनानुदिन बढ्दैं गइरहेको लागु–औषधको प्रयोग, यसको ओसारपसारमा रोकथाम र नियन्त्रणका बारेमा संचेतनासम्बन्धी कार्यक्रमहरु दमकको विभिन्न वडाहरुमा अवस्थित मण्डलीमा सञ्चालन गर्दै आइरहेको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर धनकुमार थुलुङ राईले बताउनुभयो ।
पाष्टर धनकुमार थुलुङ राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा हुनुहन्थ्यो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख थापाले अहिले लागु–औषधको प्रयोग र यसबाट भइरहेको क्षतिको रोकथाम र नियन्त्रणमा समुदायले साझा समस्याको रुपमा लिएर हात्तेमालो गर्न जरुरी रहेको बताउनुभयो । वहाँले लागु–ओाषधको प्रयोग गर्ने युवा–युवतीहरु दिनप्रतिदिन बढिरहेको र त्यसको लागि समुदायस्तरबाटै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमम दमक नगर इसाई समाजका पूर्व अध्यक्षसमेत रहनुभएका सल्लाहकार समितिका संयोजक पाष्टर राजकुमार नाछिरिङ राईले शब्दद्धारा स्वागत गर्नुभएको थियो । सो कार्यक्रममा पाष्टर दावा शेर्पा, पाष्टर डिके बेघा लिम्बू, पाष्टर मानबहादुर राई, दमक नगर इसाई समाजका सहसचिव तथा एल्डर सुरज लिम्बू, पाष्टर एबम् पत्रकार डिकेन्द्र बस्नेत लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले गर्नुभएको थियो ।

