शिवसताक्षी, १० साउन–झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारी बजार दक्षिण–पश्चिमको कमल खोलामा बाँसको पाइलिङ्ग निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी पाराबारी बजारको दक्षिण–पश्चिमको भुभागमा कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालिनका लागि बोरा र बाँसको पाइलिङ्ग लगाएर तटबन्धन गरेको हो ।
नगरपालिकाले १ सय मिटर पाइलिङ्ग गरी खोलाको धार पुरानैतर्फ फर्काएको नगरपालिकाले जनाएको छ । गएको आषाढको पहिलो सातामा परेको अविरल बर्षातका कारण खोलाले धार परिर्वतन गर्दा करिब ५० विगाह धान खेत बगरमा परिणत गरेपछि नगरपालिकले पानीको बहाव कम भएपछि बाँसको पाइलिङ्ग लगाएर कटान रोकथामका लागि जुटेको थियो ।
नगरले बर्षातको समयमा आएको भेललाई रोक्न सँधै भन्दा फरक तरिकाले काम गरेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । खोलामा पानी बाहव बढेपछि बाँसको पाइलिङ्गको मात्र भर नहुने हुँदा पाइलिङ्गसँगै बोरामा बालुवा भरेर समेत लगाइएको छ थोप्राले भने, पाइलिङ्ग, बोरा र बाटो लगाएर बाँध कसिएकाले अब आउने भेललाई रोक्ने गरी काम गरेका छौं । उक्त स्थानमा दिर्घकालिन तटबन्धन निर्माणका लागि ठूलो बजेटको व्यवस्था गर्नु पर्ने र नगरको आन्तरिक श्रोत कमजोर हुँदा तत्कालका लागि बोरा र बाँसको पाइलिङ्ग लगाइएको थोप्राले जानकारी दिए ।
नगरपालिकाले पहिलो चरणमा बालुवाको मात्र च्यानल बनाएर पानीलाई पुरानै धारतर्फ फकाउँने योजना भएको तर त्यसले पूर्णरुपले पानी बहाव नथाम्ने भएकाले बाँस र बोरामा माटो भरेर लगाएर पानीलाई च्यानालाइज गरिएको इन्जिनियर कृष्ण राईले बताए । खोलाको किनार धेरै पर रहेकाले बोरा र पाइलिङ्गको सर्पोटका लागि बालुवा थुपारेर कृतिम किनार बनाइएको जुन १२ फिट चौडाको रहेको इन्जिनियर राईको भनाई छ ।
शिवसताक्षी नगरपालिकाले उक्त पाइलिङ्ग तटबन्धनको सहितको विपद व्यवस्थापन कोषबाट ३ लाखको लागतमा निर्माण गरेको जनाएको छ ।
कमल खोलाको धार पुरानै अवस्थामा फर्काएपछि खोलाले यस वर्ष धानखेत कटान रोकिने अपेक्षा गरिएको स्थानीय मेघराज ओझाले बताए । कमल खोलाले वर्षेनी यहाँका नागरिकलाई दुःख दिदै आएको र सयौ विगाह जग्गामा लगाइएको बाली बालुवामा बगाउँदै आएको थियो र यस वर्ष बर्षात पनि खोलाले आषाढ मै धार परिर्वतन गरि पाराबारी पश्चिम क्षेत्र ढुवानमा परेको उनले जानकारी दिए ।
शिवसताक्षी नगरपालिलको तत्काल बाँसको पाइलिङ्ग र बोरा लगाई खोलालाई पुरानै अवस्थामा फर्काएको छ । नगरप्रमुखले दिनहँु निरिक्षण गरी काम गर्नु भएको हामीले देखेका छौं । उनले भने, उहाँलाई हामी वडाबासीको तर्फबाट धेरै धरै धन्यवाद दिन चाहान्छौ । उनले आगामी दिनमा दिर्घकालिन कटान नियन्त्रणका लागि तटबन्धन निर्माणका लागि वडाबासीले माग समेत गरेको जानकारी दिए ।
