काठमाडौं, १० साउन–पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।
पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवसँग बोल्ने क्रममा चर्काचर्की परेपछि पूर्वमन्त्री किराती बैठक नसकिंदै बाहिरिएका हुन् ।
आज नेपालको हवाई सुरक्षालगायतको विषयमा छलफल थियो । किराती बोल्ने क्रममा सभापति यादवले विषयवस्तुमा केन्द्रित भएर टेक्निकल पक्षमा विचार राख्न भन्दै रोकेपछि उनी आक्रोशित बनेका हुन् । एजेण्डाका कुरा गर्न नमिल्ने भए किन बैठक राखेको ? भन्दै सुदनले सभापतिमाथि प्रश्न गरे ।
‘’सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु ?’ उनले प्रश्न गर्दै भने, ‘म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो ।’ अन्य सांसदहरूले पनि बसेर आफ्नो कुरा राख्न आग्रह गरेपछि किराती बोल्न नदिएको भन्दै कड्किएर बाहिरिएका छन् ।’

