काठमाडौं, १४ साउन–आफूलाई तपश्बी दावी गर्ने रामबहादुर बमजनलाई व्यक्ति बेपत्ता मुद्दामा धरौटी मागिएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई धरौटी मागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बमजनसँग तीन लाख धरौटी माग गरेको हो । बमजनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग थियो ।
चौतारा कारागारमा रहेका उनले धरौटी रकम बुझाउन नसकेको खड्काले जानकारी दिए । सिन्धुपाल्चोक अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी छुट्न सक्ने अवस्था भने नभएको बताइएको छ ।
यसअघि असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला सुनाइसकेको छ । ०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बमजनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो ।
सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बमजनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो । महोत्तरीको जलेश्वर जेलमा रहेका बमजनलाई सिन्धुपाल्चोकमा परेको मुद्दाको अनुसन्धानका लागि लगिएको थियो ।
