दमक, १९साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।
आज (शनिबार) राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिए।
“राजनीति क्षेत्रमा विद्यार्थीको सक्रिय सहभागिता महत्त्वपूर्ण छ, देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन्”, उनले भने।
राजनीति राम्रो भएमात्र देश विकास र सबैको भविष्य सुन्दर हुने उनले बताए। उनले भने, “तपाईँहरू राजनीतिमा आउनुपर्छ, राजनीतिलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थी राजनीतिमा नआए मुलुकले उन्नति हासिल गर्न नसक्ने उनले भने।
“हाम्रो आमाबुबाको भविष्य बर्बाद भयो, हाम्रो पनि भविष्य बर्बाद भएको छ”, उनले भने, “तपाईहरूले पढाइसँगै राजनीतिमा पनि चासो दिन जरुरी छ।”
विद्यार्थीको हकहितका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिए।
अधिवेशनले विकास शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टीकामाया कार्की चयन हुनुभएको छ भने सचिवमा विनोद पोखरेल र सहसचिव सकिला लिम्बू चयन भएका छन्।
कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ।

