कञ्चनपुर, २६ साउन—फुर्सदमा जंगल गएर सालका पात टिपेर ल्याउँछन् । एक दिनभर सुकाएर जोडेर राख्छन्, जसलाई लाफा भनिन्छ । विभिन्न साइजका लाफा मेसिनमा हालेर दुना र टपरी बनाइन्छ ।
लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने कृष्णपुर नगरपालिका–९ राजघाटको वनदेवी सामुदायिक वनका महिला यस्तै काममा व्यस्त छन् । उनीहरू सामूहिक रूपमा जंगल पस्छन् । त्यसपछि जंगलबाट ल्याएका पात घरमा लगेर सुकाउने र लाफा बनाउने गर्छन् । फेरि एकै पटक सबै मिलेर मेसिनमा हालेर विभिन्न साइजका दुना र टपरी बनाउँछन् ।
‘एक दिन पात संकलन गर्छौं, अर्को दिन सुकाउँछौं, त्यसपछि धेरै लाफाहरू बनाएर एकै पटक मेसिनमा लिएर दुना–टपरी बनाउँछौं,’ कृष्णपुर नगरपालिका–९ राजघाटकी दुना–टपरी निर्माण समूहकी संयोजक फूलकुमारी चौधरीले भनिन्, ‘हामीहरू समूहमै मिलेर काम गर्छौं ।’ सामुदायिक वनसँगै आबद्ध भएका महिलाले तालिम लिएर यो काम गरिरहेका हुन् ।
लालझाडीको जंगलमा उत्पादन भएका दुना–टपरी काठमाडौं र पोखरासम्मसम्म पुग्ने गरेका छन् । वनदेवी सामुदायिक वनमा उत्पादित दुना–टपरी दुई पटक काठमाडौं पठाइएको चौधरीले बताइन् । सामुदायिक वनले नै दुना र टपरी बनाउने मेसिन ल्याइदिएको छ । उक्त मेसिनमा ५, ६ र ७ इन्चका दुना र तथा १० र १२ इन्चका टपरी बन्ने गरेका छन् ।
दुना र टपरी साइजअनुसार प्रतिपिसको १ देखि ६ रुपैयाँसम्म बिक्री हुने गरेको छ । ‘अहिले त गाउँमै खपत भइरहेको छ, पूजाका बेला माग पुर्याउन सकिरहेका छैनौं,’ चौधरीले भनिन्, ‘कहिले खेतीपातीको काम हुन्छ, कहिले घरमै व्यस्त हुन्छौं, फुर्सदको समयमा मात्रै काम गर्छौं ।’
कृष्णपुर–५ मा रहेका वनदेवी साुमदायिक वनका उपभोक्ता पनि वैशाखदेखि दुना–टपरी बनाउने काममा जुटेका छन् । उक्त सामुदायिक वनका पदाधिकारी र उपभोक्ता गरी ८ जना महिला दुना–टपरी बनाउने गरेका हुन् । ‘हामीहरूले अहिलेसम्म बाहिर पठाएका छैनौं, गाउँमै खपत भइरहेको छ,’ सामुदायिक वनकी कोषध्यक्ष सँगै दुना–टपरी निर्माणमा जुटेकी यशोदा रावलले भनिन्, ‘नियमित रूपमा काम गर्न सके आफ्नो खर्च जुटाउन सकिन्छ ।’
सामुदायिक वन समन्वय समिति (लालझाडी मोहना संरक्षित क्षेत्रमा रहेका सामुदायिक वनहरूको संस्था) ले तालिम दिएपछि महिला दुना–टपरी बनाउन जुटेका हुन् । उनीहरूले गाउँमा दुना–टपरी बिक्रीका लागि पसल सञ्चालन गर्ने योजना बनाएका छन् । त्यही पसलबाट अन्यत्र पनि पठाउने तयारी भइरहेको छ । ‘त्यसपछि गाउँमा खपत नभएको बाहिर पठाइनेछ,’ रावलले भनिन्, ‘अहिले त गाउँमा पनि धेरै खपत हुन थालेको छ ।’ अहिले बर्खायाम भएकाले जंगलभित्र धेरै जान सकिने अवस्था छैन । विगतमै संकलन गरिएका पातबाट दुना–टपरी बनाउने काम भइरहेको छ ।
तयार गरिएका लाफाबाट एक दिनमा ५ सयसम्म दुना–टपरी बनाउन सकिन्छ । महिलाहरूले संकलन गरेर ल्याएका पात पनि खरिद गर्छन् । सामुदायिक वनका अन्य उपभोक्ताले पनि पात संकलन गरेर ल्याउने गरेका छन् । राजघाटका महिलाले गत फागुन–चैतमा धेरै पात संकलन गरेका थिए । त्यति बेला बजारको अभावका कारण पात कुहिएर गएको चौधरीले बताइन् ।
महिलाहरू गहुँ कटाइमा व्यस्त हुनु र माग पनि थोरै भएका कारण पात कुहिएको उनको भनाइ छ ।
सामुदायिक वनमा सालका पात त्यत्तिकै खेर गइरहेका हुन्छन् । तिनै पात संकलन गरेर महिलाहरू आम्दानीमा जोडिएका छन् । यसले महिलालाई स्वरोजगारसँगै आत्मनिर्भरसमेत बनाउने वनदेवी सामुदायिक वन राजघाटका अध्यक्ष निरज भण्डारीले बताए । कान्तिपुरबाट
