दमक, २९ साउन–दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीका विद्यार्थीको टिमले दमकमा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
उपाधिसँगै ग्लोबलको टिमले नगद २० हजार ट्रफी र प्रमाण-पत्र हात पारेको छ भने दोस्रो हुने उर्लाबारीको पशुपति आवासीय माध्यमिक विद्यालय (मोरङ) ले नगद १० हजारमा चित्त बुझाएको छ ।
डिपीएल टिन्स बोर्डले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरुबीचको फुटसल प्रतियोगितामा झापा र मोरङका कूल १६ वटा टिमले भाग लिएका थिए ।
प्रतियोगितामा दमकका १३, कमल गाउँपालिकाका १ र मोरङको उर्लाबारीका २ वटा गरी जम्मा १६ वटा टिमको सहभागिता रहेको थियो ।
दुई दिने सो प्रतियोगितामा डाइनामिक पब्लिक लाइब्रेरी अन्तर्गतको डिपीएल टिन्स बोर्डले विद्यार्थीहरुमा खेलप्रतिको रुचि जगाउन र उनीहरुमा भएको क्षमता प्रदर्शन गर्दै प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
फुटसल प्रतियोगितामा बेष्ट प्लेयरको उपाधि आर.एन.थुलुङ्ग र बेष्ट किपरको उपाधि दिप्सन धमलाले पाएका छन् ।
