काठमाडौं, ३२ साउन–परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राई सचिवमा बढुवा हुने भएका छन् । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएपछि राई परराष्ट्र सचिवको जिम्मेवारीमा बढुवा हुने पक्का जस्तो भएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो । यसअघि बेल्जियम खाली राखेर अरु देशमा राजदूत सिफारिस गरिएको थियो ।
संसदीय सुनुवाइपछि उनी राजदूत नियुक्त हुनेछिन् । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।
उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन् । त्यसअघि नै उनलाई राजदूत बनाएर पठाएको हो । यता संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका थिए । उनी परराष्ट्रमा सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।

