दमक, ४ भदौं–झापाको गौरीगन्ज–६ चिल्लारा र मोरङको रतुवामाई–३ आमबारीलाई रतुवा खोलाले जोड्छ । खोलाको चौडाइ ४ सय मिटरभन्दा बढी छ, तर १७ वर्षअघि त्यहाँ पुल बनाउन सरकारले ठेक्का लगायो मात्र २ सय ५ मिटरको ।
खोलाबीचमा अलपत्र त्यो संरचनामा थप ७० मिटर थप्न दुई वर्षअघि अर्को ठेक्का लगाइयो, त्यो काम अझै अधुरै छ । अझ १ सय २५ मिटर पुल कहिले बन्ने हो, टुंगो छैन ।
गौरीगन्ज–६ चिल्लारा र मोरङको रतुवामाई–३ आमबारीको रतुवा खोलामा १७ वर्षअघि बनाउन थालिएको पुल अझै अलपत्र अवस्थामा । ४ सय मिटरभन्दा बढी फराकिलो खोलाको बीच भागमा २ सय ५ मिटरको संरचना मात्र बनाएर छाडिएको छ । तस्बिर स् पर्वत पोर्तेलरकान्तिपुर
१५ वर्षपछि थप ७० मिटरको ठेक्का, १२५ मिटरको अझै ठेगान छैन
पुल बनाउन थालिएको १७ वर्षसम्म पनि पूरा नहुँदा बर्खाका ६ महिना डुंगाबाटै नदी वारपार गर्नुपर्ने बाध्यता छ । मोरङ–सुनसरी पुल आयोजनाले २०६४/६५ मा १० करोड ३२ लाख ९१ हजारमा काठमाडौंको कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको २ सय ५ मिटरको पुल छोटो भएकाले खोलाको बीचमै छ । ‘खोलाको चौडाइ ४ सय मिटरभन्दा धेरै छ, तर पुल बन्यो २ सय ५ मिटरको,’ हुलाकी सडक आयोजनाका इन्जिनियर प्रभातकिरण राईले भने, ‘खोलाको बीचमै पुल सकियो ।’
अहिले थप ७० मिटर पुल निर्माणको काम भइरहेको छ । पछिल्लो पटक २०७९ मा समता–आशिष–दीप जेभीले २० करोडमा ठेक्का लिएको थप ७० मिटर पुल निर्माण यसै वर्ष सक्ने लक्ष्य छ । सडक विभागअन्तर्गतको सुनसरी–मोरङ पुल आयोजनाले २०७५ मा निर्माण नै नसकिएको पुललाई ‘फाइनल’ भएको भनेर हुलाकी सडक आयोजनालाई हस्तान्तरण गरेको थियो ।
हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि कोशी प्रदेशको राजधानी विराटनगरसम्म ९२ किलोमिटरमा कनकाईसहित पाँच पुल निर्माणाधीन छन् । पप्पु–महादेव जेभीले ३४ करोड ९ लाखमा २०६८ मा निर्माण सम्झौता गरेको कनकाई नदीको पुल २०७२ जेठमै बनिसक्नुपर्ने थियो । हुलाकी राजमार्गकै मेची–रतुवा खण्डको भुतनी खोलाको पुल बनाउन थालिएको पनि ८ वर्ष भइसक्यो, तर अझै निर्माण सकिएको छैन । सोही खण्डमा पर्ने बिरिङ पुल भने १३ वर्षमा हालै निर्माण सकिएको छ ।
२०७३ मा सुरु भएर २०७५ असारमै सक्ने गरी लामा बाम्ती जेभीले ६ करोड ७५ लाख ७३ हजारमा ठेक्का पाएको सानो माइखोला पुलले ८ वर्षसम्म पूर्णता पाएको छैन । लामा बाम्ती जेभीले नै ४ करोड ६४ लाख ४१ हजारमा ठेक्का लिएको २०७३ असारमा सुरु भएर २०७५ असारमा सकिनुपर्ने मेची–रतुवा खण्डको लेहेरा खोला पुलसमेत अलपत्र छ ।
भौतिक पूर्वाधार मन्त्रालय मातहतको पुल सेक्टर धरानका अनुसार कोशीमा साना–ठूला गरी १९ वटा पुल अलपत्र छन् । तमोर कोरिडोरमा मात्र ८ वटा पुलको निर्माण अपूरै छ । आयोजना प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार कोशीमा करिब ६ अर्ब हाराहारी लागतका पुल निर्माणाधीन छन् ।
