दमक, १० भदौं–झापाको दमकमा इसाई धर्मावलम्वीहरुको तीन दर्जन बढी चर्च (मण्डली) हरु स्थापना भएका छन् । नगरको विभिन्न वडाहरुमा छरिएर रहेका इसाई धर्मावलम्वीहरुले दमकमा आफ्नो हकअधिकार स्थापित गर्न, आपसी भाईचारा, प्रेम र एकताको निम्ति ‘दमक नगर इसाई समाज’ संस्था स्थापना गरेका छन् । संस्था स्थापना भएको २९ वर्ष भयो ।
सोही संस्थाको आज (सोमबार) दमक नगरीकै सवै भन्दा पुरानो ज्योती चर्चमा इसाई धर्मावलम्वीहरुले आफ्नो संस्थाको २९औं बार्षिकोत्सव तथा दोस्रो अधिवेशन वृहत जनसहभागितामा सम्पन्न गरेका छन् ।
दमक–५ स्थित ज्योती चर्चमा आयोजना गरिएको दमक नगर इसाई समाजको २९औं स्थपाना दिवस (बार्षिकोत्सव) तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
झापा जिल्ला इसाई समाजका अध्यक्ष समेत रहनुभएका कार्यक्रमका प्रमुख अतिथि पाष्टर अमरदीप आलेमगरले यी दुबै कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मोरङ जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर नबीन कुमार राईसहित झापाका विभिन्न पालिकास्तरीय इसाई समाजका अध्यक्षसहित अगुवाहरु, चर्चका प्रतिनिधि एबम् पर्यवेक्षकहरुको उपस्थिति थियो ।
समाजका अध्यक्ष पाष्टर धनकुमार (आकाश थुलुङ) राईको अध्यक्षतामा २९औं बार्षिकोत्सव तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको बन्दसत्रले दमक नगर इसाई समाजको आगामी दुई बर्षे कार्यकालका लागि पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा समिति पुनर्गठन गरिएको छ । पुर्नर्गठित समितिको अध्यक्षमा निर्वाचित सुब्बा यसअघि कार्यसमितिका उपाध्यक्ष हुन् ।
त्यसैगरी, समितिको उपाध्यक्षद्धयमा पाष्टर रामप्रसाद राई, अम्बिका (रोजी शेर्पा) कार्की, सचिवमा पाष्टर अजय पाठक, सहसचिवमा पाष्टर खड्गबहादुर (दीपक) कार्की र कोषाध्यक्षमा हरिकुमार राई चुनिएका छन् ।
सो समितिको सदस्यहरुमा पाष्टर गंगाप्रसाद (जोन) राई, पाष्टर राधाकृष्ण (पावल) बस्नेत, सुधिर वाल्मीकि, धनकुमार धिमाल, विकास लामगादे, हर्ककुमारी राई, रोहित पार्तेल, सागर लावोती र एल्डर रामबहादुर (पावल) राई सर्वसम्मत चुनिएका छन् ।
अधिवेशनबाट निर्वाचित समितिको आगामी बैठकले दमक नगर इसाई समाजको सल्लाहकार समिति र विषयगत अन्य उपसमितिहरु समेत गठन गरिने व्यवस्था छ ।
उद्घाटन समारोहमा दमक नगर इसाई समाजले स्थापनाकालदेखि सञ्चालन गरेको कार्यक्रम र गतिविधिहरुका बारेमा समिक्षा गरिएको थियो । झण्डै २ सय ५० जना प्रतिनिधिहरुको उपस्थितिमा भएको बार्षिकोत्सव तथा अधिवेशनको उद्घाटन समारोहमा समाजका अध्यक्ष पाष्टर धनकुमार (आकाश थुलुङ) राईले दमकमा इसाई समाजले धार्मीक गतिविधिहरुसंगै दमकको सामाजिक तथा परोपकार सेवामा समेत महत्वपूर्ण योगदान गर्न सफल भएको बताउनुभयो ।
अध्यक्ष आकाश थुलुङले महामारीको रुपमा फेलिएको कोभिड, आगलागी, भुकम्प, बाढी, कटान, डुवान लगायत दमकको सामुदायीक विद्यालयको शैक्षिकास्तरको विकास, विद्यार्थी प्रोत्साहन, दमकको सरसफाई, रक्तदानको कार्यमा संस्थागत रुपमा दमक नगर इसाई समाजले इतिहासमा सुनौला अक्षरमा नाम लेख्न सफल भएको बताउनुभयो ।
कोभिडकालिन समयमा इसाई समाजले आफ्नो स्रोत साधनबाटै दमकमा ठूलो मात्राको खाद्यान्य सामाग्रीहरु बितरण गरिएको, दमक कोभिड अस्पताललाई स्वास्थ्य सामाग्रीहरु सहयोग गएिको अध्यक्ष पाष्टर थुलुङले प्रतिवदेनमा प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तैं, कोभिडको समयमा दमकस्थित बसपार्कमा अलपत्र परेका यात्रुहरु र सडक जीवन बिताउनेहरुका लागि इसाई समाज र दिदीबहिनी समुह मार्फत निःशुल्क खाना खुवाइएको समेत स्मरण गर्नुभयो । वहाँले हिउँदको सयमा विद्यालयमा अध्ययनरत गरिव विद्यार्थीहरुका लागि न्यानो कपडा र विद्यालय जाने झोला वितरण गरेको चर्चा गर्नुभयो ।
त्यस्तैं, पाष्टर थुलुङले दमकमा बढ्दो अवस्थामा रहेको लागुऔषधको कारोबार र प्रयोगलाई नियन्त्रण गर्न दमक नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय दमकसहित अन्य सामाजिक संघसंस्थाहरुसंग सहकार्य अनि हात्तेमालो गरी कार्यक्रमहरु गरिरहेको कार्यक्रममा बताउनुभयो ।
कार्यक्रममा दमकको प्रशासनिक समन्वय समितिका संयोजक तथा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक–१ मा अवस्थित आदनको बगैचा संयोजक पाष्टर मुक्ति किराँती थुलुङ, दिदीबहिनी संयोजक अम्बिका (रोजी शेर्पा) कार्की, युवा संगती संयोजक तथा दमक नगर इसाई समाजका सहसचिव एल्डर सुरज लिम्बू, बिपत व्यवस्थापन संयोजक पाष्टर युवराज घिमिरे र खेलकुद विभाग समितिका संयोजक शिखर राईले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा दमक नगर इसाई समाजले इसाई धर्मावलम्वीहरुका छोराछोरीहरुलाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न एसईईमा ए-ग्रेडसहित उर्तिण गर्ने विद्यार्थीहरुलाई नगदसहित खादा लगाएर प्रशंषापत्र बितरण गरिएको थियो ।
कार्यक्रम सुभारम्भमा दमकका इसाई धर्मावलम्वीहरुका अगुवा रेभरेन एनडी थुलुङ राईले प्रार्थना गर्नुभएको थियो भने दमकका विभिन्न चर्च तथा मण्डलीका कलाकारहरुले मनोरञ्जनात्मक नृत्य र भजनहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशेष बक्ताका रुपमा मोरङ इसाई समाजका अध्यक्ष पाष्टर नबीनकुमार राईले बाइबल र मानवीय सेवा, धर्म, प्रेम, शुभ समाचार लगायतका बारेमा प्रवचन गर्नुभएको थियो । समाजका उपाध्यक्ष पाष्टर हेमन्त सुब्बाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव पाष्टर अजय पाठकले गर्नुभएको थियो ।
