दमक, २३ भदौं–यहि भदौं २८ गते शुक्रबार दमकमा इसाई धर्मावलम्बी संघसंस्थाहरुबीच फुटसल प्रतियागिता हुने भएको छ । दमक नगर इसाई समाजले दमकमा आयोजना गर्न लागेको फुटसल प्रतियोगिता दोस्रो संस्करण हो ।
इसाई धर्मावलम्बी युवा खेलप्रेमी तथा खेलाडीहरुबीच खेलको माध्यमद्धारा समाजिक एकता, आपसी सद्भाव र बिकासमा एकजुट गराउने उदेश्यले दमकमा फुटसल प्रतियोगिता आयोजना गरिएको हो । गत वर्षदेखि दमक इसाई समाजले फुटसल प्रतियोगिता सुरु गरेको हो । यस पटकको प्रतियोगिता दोस्रो संस्करण अन्तर इसाई समाज फुटसल प्रतियोगिता हो ।
दमक ५ गोर्खाली टोलस्थित बिस्ट फुटसल क्याम्पमा प्रतियोगिता सञ्चालन हुने दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त निङलेकु सुब्बाले जानकारी दिए । सो प्रतियोगितामा कोशी प्रदेशभरीबाट १२ वटा समुह सहभागी हुने भएको छ ।
सहभागि हुने टीमहरुमा संयुक्त ख्रीष्टियन एकता समाज (शिबसताक्षी, दोमुखा–झापा), धरान ख्रीष्टियन समाज (सुनसरी), मिक्लाजुङ ख्रीष्टियन एकता समाज (मोरङ), चुलाचुली इसाई समाज (इलाम), बिसी.एफ (दमकस्थित बेलडाँगी–झापा), संयुक्त ख्रीष्टियन समाज (मोरङ–उर्लाबारी), मिक्लाुजुङ इसाई समाज (पाँचथर), बिर्तामोड नगर इसाई समाज (झापा), बेलबारी नगर इसाई समाज (मोरङ) र आयोजक संस्था दमक नगर इसाई समाजबाट दुई टिम रातो र निलो छन् ।
अध्यक्ष पाष्टर सुब्बाका अनुसार फुटसल प्रतियोगिता सञ्चालनका लागि यसअघिको बैठकले खेल व्यवस्थापन उपसमिति गठन गरिएको र सोही अनुसारको जिम्मेवारी प्रदान गरिएको छ । खेल व्यवस्थापनका लागि शिखर राई संयोजक र सुरज लिम्बू सचिव रहेको उपसमिति गठन गर्नुका साथै कार्य सम्पादनका लागि जिम्मेवारी प्रदान गरिएको छ ।
फेण्डशिप, रिलेशनशिप र फेलोशप भन्ने उद्घोषसहित दोस्रो संस्करण प्रदेश स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको छ । दमक नगर इसाई समाजका पूर्व अध्यक्ष समेत रहनुभएका अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले स्वास्थ्य जीवन यापनका लागि र राष्ट्रको विकासका लागि खेल आवश्यका भएको बताउनुभयो ।
समाजका निवर्तमान अध्यक्ष पाष्टर आकाश थुलुङ राईले दमकसहित देशभरीको जिल्ला तथा स्थानीय पालिकाहरुमा बढ्दो अवस्थामा रहेको लागुऔषधलाई न्यूनिकरण र नियन्त्रण गर्न खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
यता, दोस्रो संस्करणको प्रतियोगिताका बिजेताहरुले पाउने राशीलाई यसपटक बृद्धि गरिएको छ । खेल व्यवस्थापन उपसमितिका सचिव सुरज लिम्बूका अनुसार प्रतियोगिताका बिजेताले नगद रु ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तैं, उपबिजेताले रु २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने लिम्बूले बताउनुभयो ।
प्रतियोगितामा मेन अफ द म्याच, बेस्ट गोल किप्पर, डिसिपिलिन पेल्यर, बेस्ट पेल्यर अल द टिम, पेल्यर अल द टुर्नामेण्ट लगायत विभिन्न विषयमा खेलाडीहरुलाई पुरस्कृत गरिने भएको छ ।
प्रतियोगिता सञ्चालनका लाग १ लाख ५० हजार खर्च हुने अनुमान बजेट छुट्टयाइएको छ ।
