झलनाथ खनाल

काठमाडौं, ३ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । जनता र राष्ट्रका समस्याहरू पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै उनले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिएकाले राष्ट्रियतामाथिको संकट देखापरेकामा चिन्ता व्यक्त गर्दै नेता खनालले भने, ‘वर्तमान संविधान जारी भएपछिका यी नौं वर्षमा आठ वटा नीति तथा कार्यक्रम, नौं वटा वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन हुन सकेको छैन । देशको पछिल्लो परिस्थितिले जनतामा निराशा सिर्जना भएकाले आगामी दिनमा सबैको सहकार्यबाट संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

पूर्व प्रधानमन्त्री खनालले संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न आग्रह गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *