काठमाडौं, ७ असोज–वैदिक सनातन समाजमा अहिले पितृ पक्ष अर्थात् सोह्र श्राद्ध चलिरहेको छ।

आश्विन कृष्ण पक्षका १५ दिन र अघि वा पछिका एक तिथिलाई समेत समेटेर १६ तिथिमा श्राद्ध गरिने भएकाले यो पक्षलाई सोह्र श्राद्ध भनिन्छ। प्रतिपदादेखि औँसीसम्मका १५ दिन र अघिल्लो पूर्णिमा वा पछिको प्रतिपदालाई समेत समेटेर सोह्र दिन पुर्‍याइएको हो।

यो समयमा आफ्नो पितृ दिवंगत भएको तिथिलाई आधार मानेर एक दिन श्राद्ध गरिन्छ। अर्थात् वर्षभरका कुनै महिना, कुनै पक्षको कुनै पनि तिथिमा मृत्यु भए पनि पितृपक्षमा त्यही तिथिमा श्राद्ध गरिन्छ।

पिता वा माता मृत्यु भएकै दिन (तिथि) मा गरिने श्राद्धलाई ‘एकोद्दिष्ट’ श्राद्ध भनिन्छ। यसमा एकजनाको मात्र सम्झना गरिन्छ। उनलाई तृप्त पार्ने उद्देश्य राखिन्छ। यो श्राद्धमा एकजनालाई मात्र पिण्ड दिइन्छ। हाम्रो समाजमा बुबा(आमा र हजुरबुबा-हजुरआमाको तिथिमा श्राद्ध गर्ने परम्परा छ।

सोह्रश्राद्धमा भने घरतर्फका तीन पुस्ता पिता(माता, पितामह(पितामही र प्रपितामह(प्रपितामही र मावलीतर्फका तीन पुस्ता मातामह-मातामही, प्रमातामह-प्रमातामही र वृद्धप्रमातामह(वृद्धप्रमातामहीको सम्झना गरिन्छ। उनीहरूलाई पिण्ड दिइन्छ। सनातन परम्परामा घरतर्फका पितृलाई तीन र मावलीतर्फका पितृलाई तीन गरी ६ पिण्ड दिने विधान छ।

पहिलेपहिले हरेक औँसीमा श्राद्ध गर्ने वा पितृको सम्झना गर्ने परम्परा थियो। अहिले हरेक औँसीमा श्राद्ध नगरिने भएका कारण आश्विन कृष्ण पक्षलाई पितृ पक्षका रूपमा लिएर श्राद्ध गर्ने परम्परा बसेको बताइन्छ। औँसी अर्थात् पर्वकै स्वरूपमा श्राद्ध गर्ने भएकाले पितृपक्षमा गरिने श्राद्धलाई ‘पार्वण’ श्राद्ध भनिन्छ।

एकोद्दिष्ट श्राद्ध मध्याह्न र पार्वण श्राद्ध अपराह्नमा गर्ने विधान छ।

एकोद्दिष्ट र पार्वणबीच यस्तो फरक भए पनि श्राद्धमा गर्नुपर्ने प्रक्रिया एउटै हुन्। सनातन शास्त्रमा श्रद्धापूर्वक गर्ने कर्मलाई श्राद्ध भनिएको छ। श्राद्धमा शुद्धताको बढी महत्त्व हुन्छ। श्राद्ध गर्ने व्यक्तिदेखि स्थान, सामग्री, वचन (मन्त्र) र कर्म ९विधि०मा समेत शुद्धताले अर्थ राख्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *