गौरादह, २६ बैशाख–झापाको गौरादह-५ स्कुलचौन बजारमा आज विहान यात्रुबाहक बस र ढुंगागिटी बोक्ने टिफर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे १ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र  न २–०३–००१ ख ७१५३ नम्बरको टिफर स्कूलचौनस्थित भित्री सडक खण्डमा एकआपसमा ठोक्किदा बस चालक कृष्णप्रसाद राजवंशीसहित १० जना यात्रुहरु घाईते भएका हुन् ।

बसमा सवार योगमाया निरौला, कल्पना उराउ, शारदा देवी पौडेल, सलिना खत्री, उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिग्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको र अन्य घाइतेहरूको नगर अस्पताल गौरादहमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ । प्रहरी चौकी महारानीझोडाले टिफर चालकसहित दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *