दमक, ८ असोज–यहि असोज ११ गते शुक्रबार साँझ दमकमा वरिष्ठ गायक शिशिर योगीले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्ने भएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर कमिटीले आयोजना गर्ने सो कार्यक्रम शुक्रबार दमकमा गायक योगीले आफ्नो चर्चित एबम् लोकप्रिय गीतहरु पस्किने भएका हुन् ।
आज (मंगलबार) दमकमा नेपाल उद्योग तथा व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी र व्यवस्थापन सम्बन्धी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा उद्योग तथा व्यवसायी महासंघ दमकका अध्यक्ष रमेश लुइँटेलले आउँदो शुक्रबार साँझ दमकस्थित कस्मिक पार्टी प्यालेसमा गायक शिशिर योगी एकल साँझ हुने जानकारी गराए ।
उनले दमकका उद्योगी तथा व्यवसायीहरु अनेकौं समस्या र पीडाहरुमा बाँचिरहेको अवस्थामा गीतर्संगीतको माध्यमद्धारा आनन्द दिलाउने प्रयास स्वरुप दशैंको समेत सन्मुख पारेर एकल साँझ आयोजना गरिएको बताए ।
गायक योगीको साँगीतिक प्रस्तुती ३ घण्टा सञ्चालन हुने भएको छ । सो अवसरमा वडा दशैं र तिहारमय शुभकामना आदानप्रदान समेत हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
एकल साँझको उद्घाटनका लागि प्रतिनिधिसभा सदस्य एबम् नेपाल उद्योग तथा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष सांसद एलपी साँवा लिम्बू आउने भएका छन् । सो कार्यक्रममा नेकपा (एमाले) को तर्फबाट झापा क्षेत्र नं ४ का सांसद साँवासहित उद्योगी तथा व्यवसायी नेताहरुको उपस्थिति हुने भएको छ ।
सो एकल साँझमा सहभागीहरुलाई शान्त रात्री भोजको समेत व्यवस्था गरिएको र प्रवेश शुल्क सिंगल (एक) का लागि १ हजार र जोडी (दुई जना) का लागि १ हजार पाँच सय रुपैयाँ तोकिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा व्यवसायी संगठनका नेताहरु प्रकाश अधिकारी, रिङकुमार आचार्य, राम रिमाल, पुँजी बजार संघ झापाका अध्यक्ष कृष्ण कार्की लगायतको उपस्थिती रहेको थियो ।
गायक योगीले ‘सारंगी त रेटे पनि’, ‘दिन बित्यो बाटो हेर्दै’, ‘फुकेर अर्काको दियो’, ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’, ‘माया गर्नुको अर्थ’, ‘आउँछु भनी निष्ठुरी’लगायत चर्चित गीतमा स्वर दिनुभएको छ ।
