खोटाङ, ९ असोज—दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा करोडौंको लगानीमा निर्माणाधीन गुम्बा अलपत्र परेको छ । २१ करोडको लागतमा आर्थिक वर्ष २०७५/७६ मा सुरु ल्हाज्यालो वाङ्थिप गुम्बा निर्माण अलपत्र परेको हो ।
प्रदेश र स्थानीय सरकारको सहकार्यमा सुरु गरिएको यो योजनामा अनियमितता भएपछि अलपत्र परेको वडाअध्यक्ष भगेश्वर राईले बताए । ‘प्रदेश र स्थानीय सरकारको सहकार्यमा योजना सुरु भएको र हिसाव गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द गर्यो,’ राईले भने,‘त्यसपछि काम बन्द भएको हो ।’
उक्त योजना महेश तामाङको अध्यक्षतामा निर्माण गरिएको उपभोक्ता समिति मार्फत गरिएको हो । गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङका अनुसार डीपीआर अनुसार करिब २१ करोडको लागतमा पाँच वर्षभित्र सक्ने गरी निर्माण सुरु गरिएको थियो ।
बजेट अभावका कारण गुम्बा निर्माण अलपत्र परेको तामाङको दाबी छ । प्रदेश सरकारले बजेट नदिए पनि अन्य बैकल्पिक श्रोत जुटाएर निर्माण गर्ने समेत तामाङले बताए । ‘बजेट अभावले निर्माणको काम रोकिएको हो,’ तामाङले भने, ‘सरकारले बजेट नदिए पनि अन्य बैकल्पिक श्रोत जुटाएर अब चााडै काम सुरु गर्छौ ।’
आर्थिक वर्ष २०७५/७६ मा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १५ लाख बजेटमा फाउण्डेसनको काम भएको र आर्थिक वर्ष २०७६र७७ मा कोसी प्रदेशको ९९ लाख बजेटबाट ग्राउण्ड फ्लोर र पिलरको डण्डी ठड्याइएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समिति मार्फत एक करोड भन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले ९९ लाख रूपैयााको संझौता गरिएको स्थानीयको गुनासो छ ।
विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि फरफारक गरिए पनि स्थानीयको चित्त नबुझेपछि प्रदेश सरकारदेखि विभिन्न निकायमा गुनासो पुगेको वडाअध्यक्ष राईले बताए । अलपत्र योजना पूरा गर्न पहल गर्न पनि अनियमितता भएको विषयले बाटो बन्द भएको राईको भनाई छ ।
‘योजना पूरा गर्न पहल गर्न पनि अनियमितताले बाटो बन्द भयो,’ राईले भने, ‘यसबारेमा स्थानीयले राम्ररी बुझेका छन्, निर्माण समितिले नै जान्नु पर्ने हुन्छ ।’
