काठमाडौं, १४ असोज–भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन्।
दशैँजस्ता चाडपर्वका बेला अत्यधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन्। सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरूसँग कुरा गरिरहेको समेत बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरूलाई अनुरोध गरेको स्मरण गराउँदै त्यसअनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताए।
उनले भने, ‘यो चाडबाडको बेलामा हवाई भाडा धेरै अत्यधिक वृद्धि हुनेकुरा उठेको छ। त्यस कुरालाई नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ। यही दशैँको बेलामा ५ हजार, ६ हजार भाडा भएका ठाउँहरुमा १७ हजार, १८ हजारसम्म भाडा वृद्धि भएको कुरा देखिएको छ। त्यसले गर्दा हामीले नागरिक उड्डयन अथवा त्यो उड्डयनसँग सम्बन्धित व्यवसायीहरुलाई पनि हामीले अनुरोध गरेका छौं। हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले नै अनुरोध गर्नुभएको छ कि यो बेलामा तपाईहरुले यसरी भाडा नबढाउनुस् भनेर। हामीले व्यवसायीसँग भाडा नबढाउन अनुरोध नै गर्ने हो। त्यो पनि नभए नियमन हुन्छ, गरिन्छ।’
मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दुःखमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरुको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिव २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रश्तुतसमेत गरे।
मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तीव्रता दिने बताए।

