धरमपुर, १४ असोज–नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर झापाको धरमपुर चौकका पसल तथा बजारमा अनुगमन गरिएको छ । चाडपर्वको समयमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले आज (सोमबार) बजार अनुगमन गरिएको हो ।
शिवसताक्षी–१ धरमपुरस्थित धरमपुर बजार अनुगमनको क्रममा अखाद्य बस्तुहरु फेला नपरेको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनले छिटपुट रुपमा केही पसलहरुबाट बिस्कुट, पाउरोटी, कोल्ड ड्रिक्सहरु म्याद गुज्रिएको अवस्थामा फेला परेपनि विगतका अनुगमनमा भेटिएजस्तो ठूलो परिमाणमा केही नभेटिएको उनले बताइन् ।
धरमपुरको एक मासु पसलबाट सडेको मासु फेला परेको थियो । उनले भनिन् त्यसलाई अनुगमन टोलीले खाल्डो खनेर तत्कालै पुरिएको थियो ।
अनुगमनका क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यापारीहरुले चाडपर्वमा म्याद गुज्रिएका सामाग्री बेच्ने गरेकाले अनुगमन गर्नु परेको बताइन् ।
कुुनै कुनै खाद्य सामाग्रीहरु स्थानीय व्यापारीहरुसँग आइपुग्दा नै म्याद गुज्रिने समयमा आइपुग्ने व्यापारीहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार सामान अडर गर्छौ, सामान हामीसँग आइपुग्दा नै म्याद सकिन लागेको हुन्छ । कतिपय सामानको हामीलाई पनि थाहा हुँदैन ।
धरमपुर बजार अनुगमनका क्रममा १५ वटा पसलको नविकरण गर्न बाँकी र २ वटा पसल नयाँ दर्ता गर्नु पर्ने पाइएको छ ।
