दमक, १९ असोज–आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को आज दमकमा लोकार्पण गरिएको छ । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा आयोजित भब्य कार्यक्रमबीच आख्यानकार बरालको “नातिपुस्ताको खेल” लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, बरिष्ठ गजकार तथा पत्रकार केशव आचार्य, कवि तथा रेडक्रसकर्मी प्रकाश बुढाथोकी, कवि प्रकाश थाम्स्ुहाङ, कवि अभागी थेगुवा, डाक्टर बालचन्द्र सुब्बा, राजकुमार सुब्बा, सुन्दर कुरुप, याम थुलुङ लगायत दर्जनौ कवि, गजलकार, साहित्यकार र समाजसेवीहरूको उपस्थिति थियो।
“नातिपुस्ताको खेल” मा विशेषगरी स्मृति परक निबन्धहरूको सङ्ग्रह हो । मेघ नामक पात्रको विषयमा चाखलाग्दो विवरण प्रस्तुत गरिएको छ। निबन्ध सङ्ग्रहमा सजिला र जटिल दुवै खाले पाठहरू समावेश छन्, जसले पाठकलाई स्मृतिमा हराउने र फरक चेतनाको अनुभव दिने बताइएको छ।
“नातिपुस्ताको खेल” नामक निबन्धहरुको सङग्रहलाई दमकस्थित स्रष्ट्रा प्रकाशनद्धारा प्रकाशित गरेको हो । बिर्तामोड निवासी कवि तथा आख्यानकार बरालका यसअघि विभन्न पुस्तकहरु बजारमा आइसकेको छ ।
