पाँचथर, २३ असोज—पहिरोले सडक छिनाएर लगेपछि पाँच दिनअघिदेखि अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड मंगलबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
पहिरो खसेर भासिएको सडक क्षेत्रमा नयाँ ट्र्याक खोल्नका साथै पहिरोले छिनाएका क्षेत्रमा पर्खाल लगाएर ग्याबिन जालीले कसेर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
सडक भासिएका क्षेत्रमा झण्डै ६० मिटर नयाँ सडक खनेर साना सवारी आवतजावत गर्न सक्ने अवस्थामा पुर्याइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
सडक एकतर्फी खुलाइए पनि ठूला सवारी र ढुवानीका साधनलाई भने प्रवेश अनुमति दिइएको छैन ।
आज साँझ साढे ६ बजे खुलाइएको सडकबाट सय भन्दा धेरै जिप,ट्याक्सी र मोटरसाइकलसहितका साधन पार गरेको बताइएको छ ।
तत्काल काम चलाउन नयाँ ट्र्याक खोलिए पनि सो क्षेत्रमा थप पहिरो जाने र सडक भासिने सम्भावना यथावत रहेको सडक डिभिजन इलामका प्राविधिकहरु बताँउछन् ।
