दमक, ९ कार्तिक–झापाको दमक–९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको छ ।

३७ बर्षिय निरौला हत्या प्रकरणमा संलग्नलाई कार्वाहीको माग गर्दै पीडित परिवारको तर्फबाट ७ जनाको नामसहित प्रहरीमा किटानी जाहेरी दिएपनि हालसम्म पक्राउ गर्न नसकेको भन्दै नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले प्रेष विज्ञप्ति मार्फत प्रशासनको ध्यानाकषण गराएको हो ।

एकीकृत समाजवादी दमकका अध्यक्ष हरिप्रसाद नेपालले शुक्रवार विज्ञप्ति निकालेर निरौला हत्या प्रकरणमा संलग्न सवैलाई खोजी गरि कारवाही गर्न माग गरेका छन् । नेपालले हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तिमा उक्त व्यक्ति हत्या कार्य सर्वत्र निन्दनीय भएको उल्लेख गरिएको छ ।

सो बिज्ञप्तिमा निरौला हत्या प्रकरण अत्यन्तै गम्भिर प्रकृतिको भन्दै जघन्य अपराधीलाई पक्राउ गरि कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । विज्ञप्तिमा घट्नाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याई प्रचलित कानुन बमोजिम कारवाही गर्न सम्बन्धित पक्षसँग जोड माग समेत गरिएको छ ।

विज्ञप्तिमा हत्या प्रकरणको सत्यतथ्य तुरुन्त सार्वजनिक गरि घट्नामा संलग्न अपराधीहरुलाई जुनसुकै आवरणमा छोपिएको भएपनि बिना कुनै दबाब र प्रभावमा नपरि तुरुन्तै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम सजाय दिलाउन माग गरिएको छ ।

गत, मंगलबार दमक–३ स्थित मावा पूल नजिकै दिनदहाडै निरौलाको हत्या भएको थियो । त्यहाँस्थित जग्गा उपयोगका बिषयलाई लिएर दुई समूहबीच चर्काचर्की हुँदा कुटपिट र ढुंगा प्रहारबाट निरौलाको हत्या भएको थियो । घट्नाको चार दिन बितिसक्दा पनि प्रहरीले कुटपिटमा प्रत्यक्ष संलग्नहरुलाई पक्राउ गरेको छैन् ।

निरौला परिवार, आफन्तहरु र शुभचिन्तकहरु हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै दुई दिनदेखि निरन्तर प्रहरी कार्यालयमा दबाब र प्रदर्शनमा उत्रिरहेका छन् ।

मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्या प्रकरणमा नाम जोडिएका मध्ये केही सत्तारुढ नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु र नेताहरुका नातगोताभित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने पीडित परिवारको अनुमान छ ।

इलाका प्रहरी कार्यालय दमकमा मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ७ जनाको किटानी जाहेरी दिएकी छन् । सो जाहेरी प्रहरी कार्यालयमा दर्ता नम्बर १०९ रहेको छ ।

जाहेरीमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा दमक–३ दुम्से बस्ने राजु भनिने शेरबहादुर नेम्वाङ लिम्बू संखुवासभा स्थायी ठेगाना भएका दमक–३ दुम्से बस्ने गणेश दर्जी, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी–७ का ध्रुव गौतम, दमक–८ का बुद्धिमान थापा, सोहि वडाका नम चेम्जोङ, इटहरी बस्ने डेबिट घलेलाई विपक्षी बनाइएको छ । उनीहरु मध्ये दुई जना प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । अन्य आरोपी फरार छन् ।

थापा, नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद होमबहादुर थापाका भाई, पार्टी केन्द्रीय सदस्य गोविन्द थापाका दाजु मात्र नभएर एमाले झापाका इन्चार्ज समेत रहेका दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीका सालो हुन् । थापाले राजनीतिक शक्तिको फाइदा उठाउदैं आएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *