काठमाडौँ, १३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसद पाण्डेले देशमा उठेका ठूला ठूला भ्रष्टाचार काण्डको छानबिन अख्तियार, सम्पत्ति शुद्धीकरण कसैले नगर्ने हो भने कसले गर्नेरु भन्ने गम्भीर प्रश्न उठेको भन्दै भ्रष्टाचार निवारणसम्बन्धी ऐन कानुन बनाउँदा त्यसबारे ध्यान दिनुपर्ने बताउनुभयो।
उहाँले अख्तियार भ्रष्टाचार सम्बन्धी कानुन बनाउँदा अख्तियारको समेत राय सुझावका आधारमा बनाउँदा राम्रो हुने धारणा राख्नु भएको थियो। ‘हामीले पास गरेको कुरा अख्तियारले कार्यान्वयन गर्न सकिँदैन भन्यो भने हामीले छलफल गरेको कुरा काम लाग्दैन’, पाण्डेले भने, ‘त्यसैले अख्तियार र भ्रष्टाचार दुवैलाई जोडेर छलफल गरियो भने उपलब्धिमूलक हुनसक्छ।’
उहाँले ठूूला–ठूूला भ्रष्टाचारका काण्ड बेला बेला उठिरहन्छन् तर, अख्तियारले छानबिन नगर्ने, सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरणले नसक्ने हो भने कसले गर्ने हो भन्दै यसबारे गम्भीर भएर छलफल गर्न जरुरी रहेको बताउनुभयो।

