ललितपुर, १३ कार्तिक–साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि बुधबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ।
नेपाल सेमिफाइनलमा भारतलाई टाईब्रेकरमा ४–२ ले हराउँदै र बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन्।
सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपालले भारतलाई टाईब्रेकरमा ४–२ ले हराएको हो। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो।
नेपालका लागि सावित्रा भण्डारी , गीता राना, सविता राना मगर र अमिषा कार्कीले गोल गरे भने भारतकी मनीषा कल्याण र पुरुषोत्तम श्रीभोइकरको मात्र गोल हुन सक्यो।
आशालता देवीले हानेको बल पोष्टमा लागेर फर्कियो भने छानुको प्रहारलाई गोलकिपर अन्जना राना मगरले रोकिदिइन्। निर्धारित समयमा भारतकी संगीता बासफोरेले १ तथा नेपालकी सावित्रा भण्डारीले १ गोल गरेका थिए।
५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधिको स्वाद चाखिसकेको बंगलादेश फेरि पनि उपाधि आफ्नै घरमा लैजाने धुनमा छ।
अघिल्लो संस्करणको फाइनलमा पनि यही दुई टिमबीच यही मैदानमा प्रतिस्पर्धा भएको थियो। त्यो वेला पनि नेपालले भारतलाई र बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा स्थान बनाएका थिए।
नेपालका लागि यो एउटा मौका रहेको छ‚ अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने। पहिलो संस्करणदेखि पाँचौ संस्करणसम्म लगातार विजेता बन्दै आएको भारतलाई अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि नेपालले सेमिफाइनलमै रोक्न सफल भएको छ।
१ पटक सेमिफाइनलसम्म र ५ पटक उपविजेता बनेको नेपालसामु फेरी अर्को पटक उपाधि जित्ने अवसर सिर्जना भएको छ। नेपाल ५ पटक उपविजेता बन्दा ४ पटक भारत र १ पटक बंगलादेश विजेता बनेका छन्।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घरेलु दर्शकको साथसँगै नेपाली टिम फाइनलका लागि तयार रहेको बताए। उनले नेपाली दर्शकको विश्वास आशा र भरोसालाई खेर जान नदिन नेपालले जित्नका लागि खेल्ने बताए। ‘हामी फाइनल जित्छौँ भन्ने सोचका साथ खेल्छौं’‚ तामाङले भने, ‘अघिल्लो संस्करणको फाइनललाई सुधारेर खेल्दै जित्नेछौँ।’
कप्तान एन्जिला सुब्बाले बंगलादेश पनि बलियो टोली भएकाले सहज रूपमा नलिने बताइन्। ‘हाम्रो बलियो पक्ष भनेको हाम्रो टिम गेम हो’‚ उनले‚ ‘भनिन्, ‘टिमका साथीहरूमा आत्मविश्वास छ, एकजुट रहेकाले हामीले राम्रो खेल्छौं र जित्छौँ पनि।’
सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो।
सन् २०१९ को पाँचौँ संस्करणमा नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो तर सन् २०२२ देखि बंगलादेश बलियो बन्दै आएको छ।
