काठमाडौँ, १५ कार्तिक—फूलको पर्व तिहार सुरु भएसँगै सयपत्री, मखमली, गोदावरी फूल उत्पादन गरिरहेका किसानलाई यति बेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसानले दसैंदेखि नै फूल टिपेर माला बनाई बजार पुर्याइसकेका छन् । यति बेला सयपत्री फूल किसानलाई भने फूल टिप्ने, माला बनाउने र बजारमा लैजाने चटारो छ ।
किसान सयपत्री फूल दिउँसै टिपेर माला बनाई भोलिपल्ट बिहानै बजार पुर्याउँछन् । तर पोहोर सयपत्री फूल बिक्री नभएकाले काठमाडौं वरपरका प्रायः किसानले स्थानीय व्यापारीलाई नै फूल बिक्री गरेका छन् । केही किसान भने फूल टिपेर उपत्यकामै ल्याएर बेचिरहेका छन् ।
भारतबाट अत्यधिक मात्रामा फूल आयात हुँदा पोहोर ९ लाख वटा सयपत्री माला मात्रै खपत भएको थियो । जब कि ३० लाख वटा स्वदेशी फूल माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमान थियो । तर स्वदेशी फूल ३० प्रतिशत मात्रै खपत हुँदा ७० प्रतिशत फूल खेर गएको थियो । यद्यपि भारतीय सयपत्री फूल २१ लाख वटा माला खपत भएको एसोसिएसनको तथ्यांक छ ।
पोहोर आफैले बजारमा पुर्याउँदा पनि फूलले मूल्य र बजार नपाएपछि यसपालि स्थानीय व्यापारीलाई बेचेको नुवाकोटस्थित विदुर–६ बुहुनेबेसीका सुन्दर नेपालले बताए । विगत पाँच वर्षदेखि फूल खेती गरिरहेका नेपालले पोहोर २ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका थिए । तर बजार नपाउँदा ३० हजार रुपैयाँ मात्रै कमाएको नेपालको भनाइ छ । ‘यसपालि २ लाख रुपैयाँको फूल बेचिसकें, अझै मूल्य पायो भने २ लाख जति कमाइ हुन सक्छ,’ उनले भने, ‘यसपालि सबै स्थानीय व्यापारीलाई नै बेचें, पोहोर त आफैले काठमाडौं लगेको थिएँ ।’
अन्य मौसममा खर्बुजा खेती गरिरहेका नेपालले सिजनल फूल खेती पनि गरिरहेका छन् । आगामी वर्षदेखि बाह्रै महिना फूल खेती गर्ने योजना रहेको उनले जनाए । माला उन्ने जनशक्ति कम भएकाले यसपालि खुला फूल प्रतिकिलो २ सय रुपैयाँमा बिक्री गरिरहेको नेपालको भनाइ छ ।
यस वर्षको तिहारमा ३७ करोड १८ लाख रुपैयाँ बराबरको सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने एसोसिएसनको अनुमान छ । गत वर्ष समग्रमा २७ करोड ४६ लाख रुपैयाँको फूलको माला बिक्री भएको थियो । यस वर्षको तिहारमा ३२ करोड रुपैयाँको ४० लाख माला मात्र खपत हुने अनुमान छ । त्यसमध्ये २५ लाख माला आन्तरिक र १५ लाखवटा भारतबाट आयात गरिने एसोसिएसनको अनुमान थियो । तर प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूल आयातको अनुमति नदिएको जनाइएको छ । यद्यपि ललितपुरमा आयातित फूल खरिदबिक्री भइरहेको जानकारी आएको एसोसिएसनका पूर्वअध्यक्ष मीनबहादुर तामाङले बताए ।
‘सरकारले आयात गर्ने अनुमति नै दिएको छैन, तर ललितपुरमा अलिअलि भारतीय फूल बिक्री भएको सुनिएको छ,’ उनले भने, ‘काठमाडौं महानगरभित्र भने आयातित फूल बिक्री हुन पाएको छैन, महानगरले नै जाँच गरिरहेको छ ।’
तिहारमा कुल ३ लाख २५ हजारवटा मखमली फूलका माला आन्तरिक बजारमा खपत हुने एसोसिएसनले जनाएको छ । १ लाख ५० हजार वटा मखमली फूलका माला निर्यात गरिनेछ । मखमली फूलको व्यावसायिक खेती काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलामलगायत क्षेत्रमा भइरहेको छ । यस वर्षको तिहारमा २० हजारवटा गोदावारी फूलको माला खपत हुने अनुमान छ । गोदावारी फूलको माला भने प्रतिमाला १ हजार रुपैयाँ पर्नेछ । हरेक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको एसोसिएसनको भनाइ छ ।
यस वर्ष १५ सय किलो सयपत्री फूल बिक्री गरिसकेको सिन्धुली गोलञ्जोर–२ का यमबहादुर हमालले बताए । ‘दसैंलगत्तै सयपत्री फूल किलोको ३ सय रुपैयाँ थियो,’ उनले भने, ‘अहिले घटेर १५० रुपैयाँमा बेचेँ ।’ बिहीबारै पनि कालीमाटीको होलसेल बजारमा फूल बेचेर फर्किसकेको उनले जनाए । ‘पोहोरभन्दा राम्रो बजार छ, तर आज मात्रै हो कि भोलि नि हो,’ उनले भने, ‘पोहोर लगानी मात्रै उठ्यो । यसपालि राम्रै भयो ।’ दसैंयता बिहीबारसम्म साढे ३ लाख रुपैयाँको फूल बिक्री गरिसकेको उनको भनाइ छ । अन्य सयमा खुर्सानी, काउली, बन्दा खेती गर्ने हमालले सिजनमा दुई वर्ष यता फूल बिक्री गरिरहेको जनाए ।
यस पटक सयपत्री फूलका माला र मखमली फूलका मालाको थोक मूल्य पनि बढ्ने सक्ने एसोसिएसनको अनुमान छ । गत वर्षको तिहारमा सयपत्री फूल प्रतिमाला ६५ रुपैयाँमा बिक्री भएको थियो । ‘यसपालि मूल्य बढिसकेको छैन, तर बिहीबार साँझसम्म १० देखि १५ प्रतिशत मूल्य बढ्न सक्ने अनुमान छ,’ तामाङले भने । गत वर्षको तुलनामा सयपत्री फूलको आन्तरिक उत्पादन घटेको र गत असोजमा आएको अविरल वर्षाले पनि क्षति पुगेकाले सयपत्री फूल मालाको अपुग हुने अनुमान एसोसिएसनको थियो । तर आन्तरिक उत्पादन नै पर्याप्त देखिएको छ ।
मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर भइसकेकाले मूल्यमा धेरै फरक नपर्ने एसोसिएसनले बताएको छ । गत वर्षको तिहारमा प्रतिमाला ४२ रुपैयाँ ६५ पैसामा बिक्री भएको मखमली यस वर्ष एउटै मालाको ४५ रुपैयाँ पर्नेछ ।
