काठमाडौँ, १५ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको बताउनु भएको छ।

बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै नेपालले भ्रष्टीकरण अन्त्य नभएसम्म समस्याको समाधान नहुने औँलाउनु भएको हो।

‘अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ। स्वार्थी प्रवृत्ति बढ्दै गएको छ। भ्रष्टीकरण बढ्दै गएको छ। यो नै कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो’, उहाँले भन्नुभयो, ‘जबसम्म कम्युनिस्ट भ्रष्टाचारमुक्त हुन सक्दैन समस्याको समाधान हुन सक्दैन। हामी कमीकमजोरी स्विकार्न तयार छैनौँ। सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएका छन्। कम्युनिस्ट पार्टी सर्वसत्तावादमा जाने खतरा छ।’

पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोतर्फ उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। कार्यक्रममा उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो होइन भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

अहिले नेपालको कम्युनिस्ट पार्टीमा जडसुत्रवादी चिन्तन र दक्षिणपन्थी चिन्तन हाबी भएकाले समस्या झन् जटिल भएको उहाँको भनाइ थियो। नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ, त्यसमा बहस गर्न आवश्यक रहेको नेपालले बताउनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *