धुलाबारी (मेचीनगर), २६ कार्तिक–झापाको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । योसँगै अब सो अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने जनाइएको छ ।

चौबीसै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको सो नगर अस्पतालमा आज एक कार्यक्रमका बिच ज्योति विकास बैंकले “हाम्रो विकास प्रवर्धन कोष” मार्फत नगरपालिकाको प्रसुति गृहलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ८७ हजार ५०० मूल्य पर्ने बेबी वार्मर प्रदान गरेको हो ।

बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने मेसिन हो । यसको प्रयोगसँगै अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न थप मद्दत पुग्ने विश्वास लिइएको ज्योति विकास बैंक धुलाबारी शाखाका प्रवन्धक विवेक अधिकारीले बताएका छन् ।

उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर प्रदान गरेको स्पष्ट पारे ।

त्यस्तै स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागी हुँदै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट मेचीनगरसँगै आसपासका पालिकाहरुबाट समेत मेचीनगर आधारभूत अस्पतालको प्रसुति गृहमा सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने बताइन् । उनले स्वास्थ्य क्षेत्रमा नगरपालिका लागिपरिरहेको बताउँदै स्वास्थ्य क्षेत्रमा थप सुविधा उपलब्ध गराउने अभियानमा नगरपालिका लागि परिरहेको बताइन् ।

कार्यक्रममा मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, सहसंयोजक रामप्रसाद अधिकारी, मेचीनगर आधारभूत अस्पतालका प्रमुख डाक्टर आशिष निरौल, ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु, मेचीनगर अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलगायतको बाक्लो उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *