काठमाडौँ, ४ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

गौतम निवास भैँसेपाटीमा आज बेलुकी एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरुबीच करिब दुई घण्टा लामो भेटवार्ता भएको गौतमको सचिवालयले जनाएको छ।

मङ्गलवार बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले एमालेका पूर्वउपाध्यक्ष भइसकेका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो।

एकीकृत समाजवादीको उक्त निर्णय सार्वजनिक भएलगत्तै गौतमले आफू एकीकृत समाजवादीमा बुहारी भित्रिएझैँ नभित्रिने प्रतिक्रिया दिएका थिए। आजको भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिटै एकता गर्नेबारेमा सकरात्मक छलफल भएको स्रोतले जनाएको छ।

भेटमा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्की पनि सहभागी थिए।

गौतम पाँच वर्ष अघि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको काम र व्यावहारप्रति असन्तुष्टि जनाउँदै अलग भएका थिए। गौतमले पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्यमा गठित नेकपा फुटाउनमा ओलीको हात रहेको आरोप लगाएपछि एमालेमा फर्कने चाहना तत्काल सम्भव नभएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *