दमक, २७ असोज–साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले सोमबार २२ओैं साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष बिन्दु दाहाल (मुकदर्शक) को अध्यक्षता तथा अग्रज साहित्यकार एवम् समालोचक प्रा.डा.बद्रिविशाल पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु मध्ये बिद्यावारिधि (पिएचडी) गर्ने साहित्यकारहरु प्रा.डा. गोपालप्रसाद भण्डारी, डा.उत्तमप्रसाद भट्टराई, डा.कमलप्रसाद वस्तीलाई सम्मान गरिएको थियो ।
सभामा साहित्य समाज उर्लावारीका अध्यक्ष यज्ञ परिश्रमी, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, सताक्षी साहित्य समाजका अध्यक्ष उमानाथ दाहाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्रप्रसाद घिमीरे, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डेलगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
सभाले महासचिव ओमप्रसाद खनालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन,कोषाध्यक्ष नेत्रप्रसाद अधिकारीबाट प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक गीता कुँवरले प्रस्तुत गरेकी लेखा प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले आफ्ना माता पिताको नाममा रु ३ लाख ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
सोहि अवसरमा आजीवन सदस्य लिने नयाँ सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको थियो । कार्यक्रममा साहित्य कला सङ्गमका आजीवन सदस्यहरु, कवि तथा साहित्यकारहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
