काठमाडौं, ५ पुस–नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् । हिजो (बिहीबार) गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको झण्डै अढाइ घण्टा लामो भेटमा यो सहमति भएको अभियानका नेता डीबी कार्कीले जानकारी दिए ।

नेता कार्कीका अनुसार एकतापूर्व दुवै पार्टीका तर्फबाट दुई–दुई सदस्यीय कार्यदल बन्नेछ । उक्त कार्यदलले एकताको खाका तयार पार्ने र त्यहीअनुरूप एक हप्ताभित्र एकता हुने बताइएको छ ।

एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरीयता दिने गरी छलफल भइरहेको छ । तर, शुक्रबार दुवैले कार्यदलमा रहने व्यक्ति तोकेनन् । कार्कीका अनुसार बुधबारभित्र कार्यदल बनिसक्ने र अर्को साताभर एकता कार्य टुंगोमा पुग्ने छ ।

‘वामदेव कमरेड जनताको बहुदलीय जनवाद छोड्ने पक्षमा हुनुहुन्न, माधव कमरेडले त्यसलाई अस्वीकार नगरेको भन्नुभएको छ’, कार्कीले भने । एकीकृत समाजवादीले अगाडि सारेको २१औं शताब्दीको समाजवादी कार्यक्रमभित्रै जनताको बहुदलीय जनवादलाई समेट्नुपर्ने गौतमको अडान छ ।

बिहीवारको वार्तामा गौतमले नेपाललाई पहिला पेश भएको २१औं शताब्दीको समाजवादी कार्यक्रम त्रुटीपूर्ण रहेको भनेका थिए । नेपालले त्यो सच्याएको भनेपछि मतैक्यता भएको वार्ताका सहभागी कार्कीले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *