काठमाडौं, २९ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा सांसद शाहीले सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गल्ती गर्दा पनि उनीहरूलाई कानुन नलाग्नु विधिको शासनको उल्लङ्घन रहेको बताए । सर्वसाधारणका लागि एक खालको कानुन र नेता तथा कार्यकर्तालाई अर्को खालको कानूनको अभ्यास सरकारले गरेको आरोप सांसद शाहीले लगाए ।
आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद वासुदेव घिमिरेले सरकारले सुशासन कायम गर्न, सेवा प्रवाहलाई छरितो बताउन र लगानी प्रवद्र्धनका लागि अध्यादेश ल्याएको बताए । अध्यादेशमाथि प्रतिपक्षले विरोध गर्नु जायज नरहेको उनको भनाइ छ ।
‘संसदमा अनौठा परिदृश्य देखा परेका छन् । आफूले राम्रो गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति देखिएको छ । के अघिल्ला कुनै सरकारले अध्यादेश ल्याएका थिएनन्’, उनले भने, ‘जारी अध्यादेशबाट नागरिकलाई सहज सेवा प्रवाह, समृद्धि र परिवर्तनको अनुभूति दिलाउन सहयोग पुग्नेछ । यसबाट युवा, उद्योगी, व्यवसायी, भूमिहीन किसानलगायत आम नागरिक उत्साहित हुनुहुन्छ ।’
अध्यादेशको प्रक्रियामा कुनै त्रुटि नरहेको तर अध्यादेशमा राखिएका विषयवस्तु संशोधन गर्नुपर्ने भए त्यसमाथि संसद्मा छलफल गर्न सकिने उनको भनाइ छ ।

