काठमाडौँ, २९ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरुको अकूत सम्पत्तिको छानबिन गर्नुपर्ने माग गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेका हुन्। बहुदलीय व्यवस्था ल्याउन शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहे पनि त्यसको फाइदा उठाएर अकूत सम्पत्ति आर्जन गरेको आरोप उनले लगाए।
उनले वर्षौं जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो भन्दै प्रश्नसमेत गरे। उनले आफूहरु जुनसुकै अनुसन्धानका लागि तयार रहेको र सबैतिर सुशासन कायम गर्नुपर्ने बताए।
‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरुको योगदान छ‚ त्यसप्रति सम्मान छ। तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचाटि दरबार कसरी बन्यो ? व्यापार कहाँ गरियो ? व्यवसाय त कुनै पनि थिएन‚’ उनले भने, ‘त्यसको छानबिन गर्नुपर्दैन ? हाम्रो नगर भनेकै छैनौँ हामीले तर सुशासनको अभ्यास सबैतिर गरौँ। होइन नगर्ने भए केही दिनको लागि सदन रोकौँ।’
संख्याको आधारमा नभई सिद्धान्तको आधारमा संसद चल्ने उल्लेख गर्दै संख्याको धाक नलगाउनसमेत सत्तापक्षको ध्यानाकर्षण उनले गराए।
‘अर्को अध्यादेश ल्याइदिनुस् कृपया। त्यो अध्यादेश के होस् भने– अमुक अमुक पार्टीको तत् तत् नेताको कहिले पनि छानबिन हुँदैन, आजीवन हुँदैन‚’ उनले भने, ‘त्यसमा कसैले आवाज उठाउन पाउँदैन किनकि उहाँहरु जेल बस्नुभएको छ।’

