दमक, १९ फागुन–दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठले केश लामो पालेको निहुँमा एक जना विद्यार्थीमाथि कुटपिट गरेका छन् ।

आइतवार दिउँसो प्रधानाध्यापक श्रेष्ठले टाउकोमा केश तान्दै हानेको मुक्काका कारण कक्षा-९ मा अध्यनरत १४ बर्षिय बिबस ढकाल बिरामी परेका हुन् ।

बिद्यार्थी ढकालका बुबा माधव ढकालका अनुसार कुटपिटबाट छोरालाई टाउको दुख्ने र वाक् वाक् हुन थालेपछि उपचारका लागि अस्पताल लैजानु परेको छ । उनको प्राथमिक उपचार पश्चात दमक अस्पतालले निम्स नेशनल हस्पिटलमा सिटी स्क्यानका लागि रेफर गरेको छ ।

ढकालले केश काट्नुपर्ने भन्ने बिषय सामान्य भएको र ढिलो भएकोबारे विशेष जानकारी गराएर समय नदिई एक्कासी संवेदनशील भागमा चोट लाग्ने गरी हिर्काउनु उचित नभएको बताउँछन् । शिक्षकले विद्यार्थी तर्साउने निहुँमा कुटपिट ठिक नभएको उनको भनाइ छ । उनले प्रधानाध्यापक श्रेष्ठलाई कारवाही गर्न माग गरेका छन् ।

उनले विद्यालय प्रशासनले यस विषय उपर आफू कानुनी प्रकृयामा जाने बताएका छन् । ढकालले भने–‘बिद्यार्थी हो, अरु कुनै अपराध गरेको होइन, केश अलि लामो भयो होला । बिद्यार्थीले अनुशासन तोडेको भए एकपटक अभिभावकलाई जानकारी गराउनुपर्ने प्रकृया पनि होला । एकैचोटी टाउकोमा मुड्कीले हिर्काउनु त भएन नि ।’

विद्यार्थी कुटपिट गर्ने विद्यालय दमककै अव्वल विद्यालय मानिन्छ । विद्यालयको नेतृत्व दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओलीले गरिआएका छन् । यसैवीच, विद्यार्थी कुटपिट घटनाका विषयप्रति नगरपालिकाको शिक्षा समितिले चासो लिएको छ ।

पीडित विद्यार्थीका अभिभावक माधव ढकालले नगर शिक्षा समितिका संयोजक तथा दमक ९ का वडाअध्यक्ष कुवेर भटटराई, शिक्षा अधिकृत प्रवीण खड्कासंग त्यसबारे जानकारी गराएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *