धरमपुर, ३ असोज –झापाको शिवसताक्षी–१ धरमपुरस्थित धरमपुर बजार व्यवस्थापन समितिले बजारको स्थायित्वका लागि जग्गा खोजी भइरहेको जनाएको छ। स्थायी जग्गा अभावमा सडक किनारमा बजार सञ्चालन गर्नुपर्ने बाध्यता रहेको समितिले जनाएको छ।
समितिको दोस्रो साधारणसभा तथा वार्षिक आय-व्यय सार्वजनिक कार्यक्रममा अध्यक्ष लीलाबहादुर जोशीले बजार सञ्चालनका लागि स्थायी जग्गा आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष जोशीका अनुसार बजारका लागि जग्गा खोजी भइरहेको छ भने सञ्चालनमा रहेको बजारलाई व्यवस्थित र टिकाउ बनाउन व्यापारीलाई सहज वातावरण निर्माण गर्ने प्रयास भइरहेको छ।

धरमपुर चोक उत्तरस्थित मिनी पार्कमा आयोजित साधारणसभाको उद्घाटन शिवसताक्षी–१ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष चेम्जोङले सीमित स्रोत–साधनका बीच पनि धरमपुर बजारले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको बताउनुभयो।
बजारको आफ्नै नाममा जग्गा नभएका कारण वडा तथा नगरपालिकाबाट बजेट विनियोजन गरी बजार क्षेत्रमा संरचना निर्माण गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो।
बजारमा ग्राहकको संख्या बढाउने उद्देश्यले गत वैशाखदेखि लक्की ड्र उपहार योजना सञ्चालन गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो। बजार क्षेत्र तथा आसपासमा सडक बत्ती जडान गरिएको समेत उहाँले बताउनुभयो।

साधारणसभामा समितिकी कोषाध्यक्ष मीनाकुमारी शाहीले वार्षिक आय–व्यय प्रस्तुत गर्नुभयो। प्रस्तुत विवरणअनुसार समितिले ७ लाख ४ हजार ३ सय १० रुपैयाँ आम्दानी गरेको छ।
सो अवधिमा ४ लाख १७ हजार ८ सय १ रुपैयाँ खर्च भएको र खर्च कटाएर २ लाख ८६ हजार ५ सय ९ रुपैयाँ बचत रहेको जनाइएको छ।
कार्यक्रममा समितिका आजीवन सदस्य नारदप्रसाद थापा, पूर्वसचिव मोहन सिन्च्युरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। समितिका सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

