भद्रपुर, २२ फागुन–राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता सञ्चालन गरिने झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
यही फागुन २३, २४ र २५ गते मेची रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा झापा जिल्ला खेलकुद विकास समितिले जनाएको हो ।
समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार प्रतियोगितामा झापाका सबै स्थानीय तहका विद्यालयहरुबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरुले ६ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् ।
यसवर्ष एथलेटिक्स ९छात्ररछात्रा०, भलिबल ९छात्ररछात्रा०, कबड्डी ९छात्ररछात्रा०, कराते ९छात्ररछात्रा०, तेक्वान्दो ९छात्ररछात्रा० र उसु ९छात्ररछात्रा० खेल हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रत्येक टिममा ६ विधाका करिब १२५ जना खेलाडी तथा अफिसियल गरी करिब दुई हजार जनाको जमघट मेची रंगशालामा रहने कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले बताए ।
राष्ट्रपति रनिङ शिल्डमा सामेल नभए पनि जिल्लामा उल्लेख्य खेलाडी रहेको आईटीएफ तेक्वान्दोको पनि प्रतियोगितात्मक प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगिताका लागि खेलको विधा अनुसार मेची रंगशालालाई व्यवस्थित बनाइएको नेम्बाङले जनाए । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा गराइएको थियो ।
प्रतियोगिताबाट विजेता खेलाडीहरु छनोट भई झापा जिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको झापा टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने समितिका प्रवक्ता जगन कार्कीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि, सम्बन्धित निकायहरुबाट हालसम्म कुनै पनि बजेट प्राप्त नभइसकेको कार्यालयले जनाएको छ ।
अहिले बजेट नआए पनि उद्योगी–व्यवसायी, खेलकुदप्रेमी, दाताहरुसँग सहयोग जुटाएर प्रतियोगिता गर्ने अठोट लिइएको अध्यक्ष भण्डारीले बताए । ‘राष्ट्रपति रनिङ शिल्ड नेपाली खेलकुदको मुहान हो, यहीँबाट राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने हो’, भण्डारीले भने– ‘त्यसैले जसरी पनि यो प्रतियोगिता सम्पन्न गर्नुपर्छ भन्ने हामीले आँट गरेका छौँ, यसका लागि सबैको साथ–सहयोग प्राप्त हुने विश्वास पनि लिएका छौँ ।’
यो प्रतियोगिताकै अवसर पारेर खेलाडी वा प्राविधिकको रुपमा खेलकुद क्षेत्रमा योगदान पुर्याएका तर आर्थिक अवस्था कमजोर रहेका व्यक्तित्वहरुलाई सम्मान गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।
