झापा, २३ फागनु–झापा लागुऔषध नियन्त्रणमा चुनौती थपिएँदै गएको छ । नेपाल–भारत खुला सीमाका कारण जिल्लामा लागुऔषध नियन्त्रणमा चुनौती थपिँदै गएको हो ।
लागुऔषधसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय सीमाका नाका काँकरभिट्टा, बिर्तामोड र दमकमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । तथापि, लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ गर्नेक्रम रोकिएको छैन ।
गत आर्थिक वर्ष २०७८र०७९ देखि चालू आर्थिक वर्षको माघसम्मको ४३ महिनाको अवधिमा जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता गरी एक हजार तीन ६५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक छ । प्रहरीले आठ सय ८४ वटा मुद्दामा उनीहरुमाथि कारबाहीसमेत अघि बढाएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को माघसम्म सात महिनाको अवधिमा दुई सय ६० जना लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । एक सय ८१ वटा लागुऔषधका मुद्दामा उनीहरु पक्राउ परेको उहाँले बताउनुभयो । पक्राउ परेकामध्ये धेरैजसो किशोर र युवा रहेको उहाँ बताउनुहुन्छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट आर्थिक वर्ष २०७८÷०७९ मा तीन सय सात, आव २०७९÷०८० मा तीन सय ३६ र आव २०८०÷८१ मा चार सय ६२ जना लागुऔषध कोराबारी र सेवनकर्तालाई पक्राउ गरी कारबाही गरेको छ ।
भारतीय बजारसँग सीमा जोडिएको झापाको मेचीनगर, भद्रपुर, कचनकवल, झापा गाउँपालिक, गौरीगञ्ज, गौरादहबाट लागुऔषध कारोबारी तथा प्रयोगकर्ता भित्रिने गरेका छन् भने राजमार्गसँग जोडिएका स्थानहरु बिर्तामोड, शिवसताक्षी, कनकाई, दमक, काँकरभिट्टामा लागुऔषधको कारोबार र सेवनकर्ता बढी रहेका छन् ।
लागुऔषध नियन्त्रणका लागि जनचेतना अभिबृद्धि, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रम गरिए पनि नियन्त्रण हुन सकेको छैन ।
