झापा, २३ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले नेपालमा राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफजस्तै भएको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन झापाले आज (शुक्रवार) बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राजाको कन्टेन्टमा हेर्ने हो भने यो हरेक देशमा यो चलिरहेको हुन्छ आज पनि तपाई फ्रान्स जानुभयो भने त्यो एउटा चिया पसल छ । चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनु पर्छ भन्ने हुन्छ । राजा गएको सयौं बर्ष भयो र पनि यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ ।’
डा.शेखर कोइरालाले खाली राजाको गफ मात्र गरेर हँुदैन राजनीतिक दलहरुले जनतालाई कतिको खुशी पार्न सकेका छन् । गणतन्त्र ल्याएर गणतन्त्रले जनतालाई भरोसा दिलाउन सकेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण भएको बताए ।
राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन गर्न लागेको आन्दोलनलाई उनले फ्रान्सको पेरिसमा रहेको एउटा चिया पसलमा सयौ वर्षदेखि चलिरहेको चिया गफको संज्ञा दिएका हुन् ।
उनले राजा फर्किने कुरामा विश्वास गर्न नसकिने बताए ।‘मलाई लाग्दैन माई खोलामा धेरै पानी बगिसक्यो राजा फर्किने मलाई विश्वास छैन ’ उनले भने,‘ तर कोसिस मान्छेले गरिराख्या हुन्छ कोसिसलाई चेक गर्ने हो, हामीले राम्रो काम गरेर चेक गर्ने यो राजाको कन्टेन्टमा ।’ उनले दुर्गा प्रसाईको बारेमा खासै टिप्पणी गर्न चाहेनन् । ‘दुर्गा प्रसाई व्यक्तिको बारेमा यसमा धेरै नबोलुम् । व्यक्तिमा स्वतन्त्रता छ’ उनले भने ।
उनले कांग्रेस सत्तामा भएपनि सरकारमा नरहेको भन्दै केपी ओली नेतृत्वको सरकारको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरे । सत्तामा रहेका दुई दलले संघीय, प्रदेश र स्थानीय सरकार संचालनका लागि बनाएको संयन्त्रप्रति उनको आपत्ति थियो ।
कांग्रेसको आगामी महाधिवेशनका सम्बन्धमा उनले २०८२ चैत मसान्तभित्र सो महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखे । पत्रकार सम्म्ेलन नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा भएको थियो ।
डाक्टर कोइरालालाई स्वागत
कांग्रेसका नेता डा।कोइराला शुक्रवार झापा आउदाँ दमकमा पार्टी कार्यकर्ताहरुले भव्य रुपले स्वागत गरेका छन् । मोरङ र झापाको सीमा क्षेत्र दमकस्थित मावापूलमा पार्टीका सयौं नेता-कार्यकर्ताहरुले नारा लगाएका हुन् । डा। कोइरालालाई स्वागत गर्न पार्टीकी केन्द्रीय सदस्य सरिता प्रसाइँको नेतृत्वमा भेला भएका थिए । स्वागतका क्रममा उनीहरुले डा.कोइरालाको पक्षमा नारावाजी समेत गरेका थिए ।
विराटनगरबाट उर्लाबारी हुँदै झापातर्फ आएका नेता कोइराला शुक्रवारनै मातृ शोकमा परेका कांग्रेस नेता एवं प्रदेश सभामा कांग्रेसका सचेतक गोपाल तामाङको मेचीनगरस्थित निवासमा पुगेका छन् ।
नेता कोइरालाले शनिवार विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पूर्व आप्रवासी समन्वय विभागले आयोजना गरेको दुई दिने कार्यशाला तथा प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक विज्ञान प्रसाइँले जानकारी दिए ।
भेलाले विदेशबाट स्वदेश फर्किएका आप्रवासीहरुलाई संगठित गर्दै प्रजातान्त्रिक विचारसँग जोड्ने सो अभियानमा सक्रिय तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले बताए ।
