काभ्रेपलाञ्चोक, २५ फागुन–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताएका छन्।
आज काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ एवं शुभेच्छुक संस्था विस्तार कार्यक्रममा पार्टीले आगामी २०८४ सालमा हुने निर्वाचनभन्दा पनि मुलुक र जनताको चिन्ता गरेको उनले बताए।
“केही पुराना र नयाँ पार्टीले २०८४ सालको चुनावको चिन्ता गरिरहेका छन्, राजनीतिक दलले सधैँ चुनावको मात्र चिन्ता गरेर देश बन्दैन। देशको चिन्ता गर्नेतर्फ लागौँ”, शर्माले भने।
उनले निर्वाचनको मात्रै चिन्ता गर्दा देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गरे। “कांग्रेस इतिहास बोकेको पार्टी हो, लाखौँ कार्यकर्ताको विश्वास जितेको छ । यो पार्टीले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन”, उनले भने।
महामन्त्री शर्माले नेताकार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्नसमेत निर्देशन दिए।
“बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै खालका विवाद छैन, काम गर्दा केही कमीकमजोरी भएका हुनसक्छन्”, उनले भने, “तपाईंहरू नआत्तिनुस् र निर्धक्क भएर काम गर्नुस्।”

