काठमाडौं, ३१ वैशाख–राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको आज (बुधवार) को बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरूले केही पनि गर्न नसकेको बताए। उनले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्नेगरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताए।

गौतमले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरू नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गरे । उनले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताए। उनले दलहरूले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताए।

देश ठूूलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उनको भनाइ छ। राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनै पनि नेताहरूले त्यसबारेमा अध्ययन नगरेको गुनासो गरे।

‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मैले ज्यादै नराम्रो नेपाली जनाताका निम्ति नेपाल राष्ट्रका निम्ति सबैको घटना दुर्घटनाको छेउछेउमा हामी छौँ भन्ने हामीलाई लाग्या छ,’ गौतमले भने, ‘कति समयसमम्म यसरी हामी छलफल गर्छौं, त्यो थाहा छैन । तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को चिज हुन्छ, यो सिद्धान्त हो । कसैले रोक्न सक्दैन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *