चारपाने, २१ असोज–झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिव १० करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको बताउँदै करिब १० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आज बिहान १०ः४५ बजे बिर्तामोड नगरपालिका ४ अन्नपूर्ण चोक बस्ने देबी सुव्वाको तीनतले पक्की घरको भुइँतलामा उनका भाइ हर्कजंग सुव्वाले संचालन गर्दै आएको देवी उडन फर्निचर पसलबाट आगलागी शुरु भएको थियो ।
आगलागीबाट सोही घरसंग जोडिएको कृष्णकुमारी राईको घरमा भाडामा लिई दिव्याश्री अग्रवालले सञ्चालन गरेको जय ट्रेड फर्निचर फ्याक्ट्री एण्ड सोरुम ९घरसमेत० जलेर पूर्णरुपमा क्षति भएको छ । अन्य पछाडी रहेका दुई वटा घरमा आगोको रापले सामान्य क्षति पुगेको छ ।
आगो निभाउने क्रममा अर्जुनधारा वडा न ३ बस्ने ३९ वर्षीय तिलबहादुर रम्तेल घाइते भएका छन् । आगलागी भएको घरबाट सामान निकाल्ने क्रममा एक तला माथिबाट हामफाल्दा उनको दाहिने खुट्टामा चोट लागेको छ ।
घाइते रम्तेलको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अबस्था सामान्य रहेको छ ।
उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी ,नेपाली सेना र स्थानीयबासीको सहयोगमा दिउँसो १।०४ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण तत्काल नखुलेपनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।
