बुद्धशान्ति, २१ असोज–बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा आयोजना गर्न लागेको बुद्धशान्ति वडा नम्बर १ दोस्रो झापा मिडिया कप–२०८३ को खेल तालिका सार्वजनिक गरिएको छ।

पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताको खेल तालिका बुधबार आयोजित कार्यक्रममा गोलाप्रथाबाट सार्वजनिक गरिएको हो।

बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिता संयोजक नारायण अर्यालले खेल तालिका सार्वजनिक गर्नुभएको थियो।

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको पहिलो खेलमा मेचीनगर प्रेस क्लब र कनकाई प्रेस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा पर्यटन पत्रकार र दमक पत्रकार मञ्चबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको पहिलो पोलबाट आयोजक बुद्धशान्ति प्रेस क्लब र दोस्रो पोलबाट ग्रामीण प्रेस क्लब सिधै सेमिफाइनलमा प्रवेश गरेका छन्। बुद्धशान्ति प्रेस क्लबले मेचीनगर र कनकाईबीचको विजेतासँग तथा ग्रामीण प्रेस क्लबले पर्यटन पत्रकार र दमक पत्रकार मञ्चबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।

प्रतियोगिताको पहिलो दिन असोज २४ गते चार खेल सञ्चालन हुने आयोजकले जनाएको छ। खेल बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ। प्रतियोगितामा कुल ६ वटा टिमको सहभागिता रहनेछ।

बुद्धशान्ति गाउँपालिका–१ मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले ३१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले ११ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ।

खेल तालिका सार्वजनिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले, प्रेस क्लबका संस्थापक सचिव दिपेन लावतीलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन प्रेस क्लबका सचिव रोशन भट्टराईले गर्नुभएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *