चन्द्रगढी, ८ असोज–नेपाल तेक्वान्दो संघ झापाको अध्यक्षमा कुमार भट्टराई चयन हुनु भएको छ । केहीदिन अघि सम्पन्न संघको पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा भट्टराईसहित उपाध्यक्षमा दिपेन धिमाल, सचिवमा विवेक गिरी र सदस्यहरु योगेन्द्र रिजाल, लक्ष्मी राजबंशी, राजकुमार दर्जी, रुपककुमार राई र तीर्थबहादुर कटुवाललाई सर्वसम्मत चयन गरेको छ ।
संघको एक उपाध्यक्ष र एक सचिव मनोनित गरी १५ सदस्यीय कार्यसमिति रहने निर्वाचन समितिका संयोजक विष्णुकुमार नेम्वाङले जानकारी दिनुभयो ।
बाबुलाल सुब्बाको अध्यक्षता र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपानेको प्रमुख आतिथ्यतामा जिल्ला खेलकुद विकास समितिको सभाहलमा सम्पन्न अधिवेशन बिशेष अतिथि संघका कोशी प्रदेश सदस्य सञ्जय राई सहित अधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संघको अधिवेशन सम्पन्न गर्न विष्णुकुमार नेम्वाङको संयोजकत्वमा सौरभ प्रधान र सोनु राजबंशी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सोही समितिले निर्वाचनको प्रक्रिया पुरा गरी जिल्ला समिति सर्बसम्मत चयन भएको घोषणा गरेको थियो ।
अध्यक्षमा निर्वाचित भट्टराई तेक्वान्दोका पुराना खेलाडीसंगै स्थापित लेखक तथा पत्रकार समेत हुनुहुन्छ ।

